परमाणु सम्झौताको रिपब्लिकनद्वारा भर्त्सना

  • 15 जुलाई 2015
तस्वीर कपीराइट EPA
Image caption सहमति भएको खुसियालीमा इरानी जनताहरु राजधानी तेहरानका सडकमा उत्रिएका छन्

अमेरिकी रिपब्लिकनहरुले वर्षौंदेखिको प्रयासपछि विश्व शक्ति राष्ट्रहरु र इरानबीच उसको परमाणु कार्यक्रमबारे भएको सहमतिको एक स्वरमा भर्त्सना गरेका छन्।

सहमति अनुसार परमाणु गतिविधिलाई सीमित पार्ने बदलामा इरानविरुद्ध लगाइएको आर्थिक नाकाबन्दी हटाइने छ।

इरानसँग भएको सहमतिलाई अनुमोदन गर्नका निम्ति अमेरिकी कंग्रेससँग ६० दिन छ।

यद्यपि राष्ट्रपति बराक ओबामाले त्यसलाई रोक्ने प्रयास गरिए विशेषाधिकार भिटो प्रयोग गर्ने चेतावनी दिएका छन्।

आलोचना

अमेरिकी रिपब्लिकनहरुले जस्तै इजरेली सरकारले पनि इरानसँगको सहमतिको आलोचना गरेको छ।

इरान र विश्वका ६ शक्ति राष्ट्रहरु अमेरिका, ब्रिटेन, फ्रान्स, चीन, रुस र जर्मनीबीच सन् २००६ मा वार्ता शुरु भएको थियो।

तथाकथित पी प्लस वान भनेर चिनिने ६ शक्ति राष्ट्रहरु इरानले परमाणु अस्त्र बनाउन सक्दैन भन्ने कुरा सुनिश्चत गर्न आफ्नो परमाणु गतिविधिलाई कम गरोस् भनी चाहन्छन्।

अन्तर्राष्ट्रिय प्रतिबन्ध हटोस् भनी चाहना राख्ने इरानले आफ्नो परमाणु गतिविधि शान्तिपूर्ण रहेको जोड दिंदै आएको छ।

तस्वीर कपीराइट EPA
Image caption इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले पनि सहमतिको भर्त्सना गरेका छन्

अमेरिकी तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभका सभामुख जोन बेएनरले पछिल्लो सहमतिले इरानलाई “उत्साही” बनाउने बताए।

बढावा

उनले भने, “मध्यपूर्वमा परमाणु अस्त्रको विस्तार रोक्नुको सट्टा इरानसँगको सहमतिले विश्वभर परमाणु अस्त्र बनाउने प्रतिस्पर्धालाई बढावा दिनेछ।”

राष्ट्रपति पदको उम्मेद्वारी पाउने दौडमा रहेका रिपब्लिकन सिनेटर लेन्ड्से ग्राहमले सहमतिलाई “भयावह” भन्दै त्यसले स्थितिलाई झन नराम्रो बनाउने बताए।

परमाणु कार्यक्रमबारे विश्व शक्ति राष्ट्रहरुसँग भएको एउटा महत्वपूर्ण सहमतिपछि खुसियाली मनाउन इरानका जनताहरु राजधानी तेहरानका सडकमा उत्रिएका छन्।

उक्त सहमतिसँगै धर्मराएको इरानी अर्थतन्त्रमाथिको अन्तर्राष्ट्रिय प्रतिबन्ध हट्ने भएको छ।