उद्धार टोली खटाउन पर्वतारोहण संघको आग्रह

  • 15 जुलाई 2015
Image caption अघिल्लो वर्षको सुरुमा सगरमाथा क्षेत्रमा आएको हिमपहिरोपछि नै त्यस क्षेत्रको पर्वतारोहण र पदयात्रा प्रभावित भएको थियो

सरकारले जतिसक्दो चाँडो नेपालका चर्चित पर्वतारोहण स्थल र पदयात्रा मार्गमा स्वास्थ्यकर्मी सहितको उच्च स्तरिय उद्धार टोलीको व्यवस्था गर्न पर्वतारोहण संघले आग्रह गरेको छ।

ती पर्वतारोहण स्थल र पदयात्रा क्षेत्रमा भूकम्पले क्षति पुर्याएका भौतिक संरचनाको निर्माणमा पनि सरकारले चाँडै काम थाल्नुपर्ने संघको भनाइ छ।

नेपालमा हालसम्म ४ सय १४ हिमाल पर्यटकका लागि खुला गरिएका छन्।

जहाँ वर्षेनी हजारौ संख्यामा स्वेदेशी तथा विदेशी पर्यटकहरु पर्वतारोहण र पदयात्राका लागि आउने गर्दछन्।

गुनासो

तर निकै जोखिमपुर्ण मानिने यी स्थानमा भवितब्य केहि परेमा पर्वतारोहिहरुको शीघ्र उद्धारका लागि सरकार संग प्रभावकारी संयन्त्र नभएको यो क्षेत्रमा काम गर्नेहरुको गुनासो छ।

पर्वतारोहिलाइ लेक लाग्ने र अन्य विभिन्न स्वास्थ्य समस्या आइपर्ने गर्छन् र साथै प्राकृतिक प्रकोप भएमा पनि शीघ्र उद्धारको खाँचो पर्ने गर्छ।

जसका लागि सरकारले अब आउने पर्वतारोहण याम अगावै नेपालका चर्चित पर्वतारोहण र पदयात्रा स्थलमा सोहि स्थानमै रहने गरी अत्याधुनिक व्यवस्था सहितको स्वास्थ्य उद्धार टोली तयार गर्नुपर्ने नेपाल पर्वतारोहण संघका अध्यक्ष तथा विश्व पर्वतारोहण महासंघका मानार्थ सदस्य आङ छिरी शेर्पा बताउँछन्।

उनले भने, “कुनै दुर्घटना भएको १५/२० मिनेटमै पुगेर उद्धार गर्ने व्यवस्था हुनुपर्छ। हेलिकप्टरमा उद्धार गर्न जान डाक्टरसहितको टोली समयमै पुग्नुपर्छ। समयले मान्छेको जीवनमरणको अर्थ राख्छ।”

समयमै स्वास्थ सेवा दिन नसक्दा वर्षेनी एक दर्जन भन्दा बढिले ज्यान गुमाउने गरेको संघले जनाएको छ।

सुझाव

यसपालिको पर्वतारोहण याम अगावै बैशाख १२ गतेको भूकम्पले कतिपय पर्वतीय क्षेत्र तथा पदयात्रा स्थलमा पदयात्रा मार्ग पुरिएका, पुल पुलेसा, भौतिक संरचना भत्केर क्षति पुगेको हुँदा त्यस क्षेत्रको पुर्ननिर्माणमा सरकारको ध्यान जान जरुरी रहेको पर्यटन व्यवासायी बताउँछन्।

सरकारले यी काम अगाडि बढाइ सकेको पर्यटन विभागका महानिर्देशक तुलसीप्रसाद गौतमको जवाफ थियो।

उनले भने, “सगरमाथा र अन्नपूर्ण क्षेत्रमा सेप्टेम्बर अगाडि नै बनाउछौं। धेरै ठाउँमा फिट भइसकेको छ, बाकिँ रहेको ठाउँहरुमा २/३ महिनाभित्र काम सक्छौं।"

नेपालका चर्चित पर्वतारोहण स्थल तथा पदयात्रा मार्गहरु जस्तै सगरमाथा लाङटाङ तथा मनास्लु क्षेत्रमा भरपर्दो संचार व्यवस्था, अनि मौसमबारे पूर्व जानकारी दिने बारेमा सरकारले ध्यान दिन जरुरी रहेको पर्यटन विज्ञहरुको सुझाव छ।