ग्रीसः ऋण संकट समाधानसम्बन्धी शर्त अनुमोदन

  • 16 जुलाई 2015
तस्वीर कपीराइट AP
Image caption प्रधानीमन्त्री सिप्रास संसदमा पुग्दा मन्त्रपरिषद्का सदस्यहरुले ताली बजाएर समर्थन गरेका थिए

ग्रीसका बहुमत सांसदहरुले ऋण संकट समाधानका निम्ति युरोपियन युनियनद्वारा राखिएका शर्तहरुलाई अनुमोदन गरेका छन्।

ब्रसेल्सले नयाँ आर्थिक सहायता प्याकेजबारे वार्ता हुनुअघि ती शर्तहरुलाई स्वीकार्नुपर्नेमा जोड दिएको थियो।

ग्रीक प्रधानमन्त्री एलेक्सिस सीप्रासले ती कदमहरुप्रति आफूलाई विश्वास नभएपनि युरोमुद्रा प्रचलनमा रहेको युरोजोनभित्र ग्रीस रहिरहने हो भने त्यसलाई अनुमोदन गर्नुको विकल्प नभएको बताएका थिए।

२ सय २९ जना सांसदले पक्षमा मतदान गरे भने ६४ जना सांसदले विपक्षमा मतदान गरे।

विरोध

विपक्षमा मतदान गर्नेहरुमध्ये आधाजसो सत्तारुढ सिरिजा पार्टीकै सांसदहरु छन्।

तीमध्ये गत साता राजीनामा दिएका पूर्व अर्थमन्त्री यानिस भारुफाकिस पनि रहेको बताइएको छ।

संसदमा मतदान हुनुअघि मितव्ययीताको विरोधमा उत्रिएका प्रदर्शनकारीहरुले संसद भवन नजिकै प्रहरीमाथि पेट्रोल बम प्रहार गरेका थिए।

जवाफमा प्रहरीले प्रदर्शनकारीमाथि अश्रु ग्यास प्रहार गरेको थियो।

तस्वीर कपीराइट Reuters
Image caption हालै राजीनामा दिएका पूर्व अर्थमन्त्री यानिस भारुफाकिसले पनि विपक्षमा मतदान गरे

सीप्रासले बैंकहरुलाई धराशायी हुनबाट र ग्रीसलाई बर्बादीबाट जोगाउनका निम्ति आफूले “तर्कहीन” शर्तहरुलाई कार्यान्वयन गर्न चाहिरहेको बताए।

“कालो दिन”

मतदानअघि संसदमा बोल्दै सीप्रासले भने, “एउटा अनुचित युद्धमा लडाई गर्ने र हतियार बुझाईदिनेबीच के फरक छ भनी ग्रीसका जनताहरुलाई पूर्ण चेतना छ र बुझ्न सक्छन्।”

उनकै सिरिजा पार्टीका ३० जनाभन्दा बढी सांसदहरुको असहमतिबीच संसदले शर्तहरुलाई अनुमोदन गरेको हो।

मतदानअघि सभामुख बाहिरिएकी थिइन्।

उनले युरोपमा लोकतन्त्रका निम्ति “कालो दिन” भएको भन्दै युरोपियन युनियनद्वारा लादिएका शर्तहरुको भर्त्सना गरिन्।