वेस्टगेट फेरि सन्चालनमा

  • 18 जुलाई 2015
वेस्टगेट तस्वीर कपीराइट Reuters
Image caption वेस्टगेट व्यापारिक केन्द्र बाहिर किनमेल गर्ने मानिसहरुको भीड लागेको थियो

सोमालियास्थित इस्लामवादी समूह अल शबाब उग्रवादीहरुले हमला गरेको झण्डै दुई वर्षपछि केन्याको राजधानी नैरोबीस्थित वेस्टगेट व्यापारिक केन्द्र फेरि सन्चालनमा आएको छ।

ती हमलामा सतसठ्ठीजना मारिएका थिए। राष्ट्रपति ओबामा आउँदो साता केन्या जाँदैछन्, जसलाई देशको सुरक्षा व्यवस्थाप्रति बढ्दो विश्वासको रुपमा लिइएको छ।

अल शबाब उग्रवादीहरुले बाइस महिना अघि हमला गरेको नैरोबीस्थित वेस्टगेट व्यापारिक केन्द्र बाहिर किनमेल गर्ने मानिसहरुको भीड लागेको थियो।

सुरक्षाकर्मीहरुले कडा सुरक्षा जाँचपछि मात्रै उनीहरुलाई व्यापारिक केन्द्रभित्र जान दिएका थिए।

उक्त हमलामा बाँच्न सफल बेन मुल्लाले भने, "हामी फेरि आफ्नै खुट्टामा उभिएका छौं भन्ने संसारलाई देखाउन पाउँदा हामी खुसी छौं।"

सन्देश

नैरोबीका गभर्नर इभान्स किदेरोले केन्याको राजधानी सुरक्षित छ भन्ने सन्देश दिन उक्त व्यापारिक परिसर फेरि चालु गरिएको बताए।

उनले भने, "एउटा राष्ट्रको रुपमा हामी रोयौ। हामीले दुख मनायौं। तर वेस्टगेट फेरि सन्चालनमा आएको छ।"

अमेरिकी राष्ट्रपति ओबामा आउँदो साता केन्याको भ्रमण गर्दैछन्।

त्यसअघि सुरक्षा स्थितिमा सुधार आएको केन्या सरकार देखाउन चाहन्छ।

वेस्टगेट हमला पछि पनि अल शबाब उग्रवादीहरुले केन्या भित्रै ठूल्ठूला हमलाहरु गरेका छन्।

गत अप्रिल महिनामा उत्तरपूर्वी केन्यास्थित गरिसा विश्वविद्यालयमा उग्रवादीहरुले गरेका हमलामा झण्डै डेढसयजना मारिएका थिए।

हाम्रा संवाददाता भन्छन्, अल शबाबले केन्याभित्रै बाट पनि नयाँ सदस्यहरु भर्ती गरिरहेको छ।

जाँचबुझ

वेस्टगेट हमलाका बारे छानबीन गरिने सरकारले जनाएको थियो, तर त्यस्तो जाँचबुझ कहिल्यै गरिएन।

एउटा संसदीय समितिले भने सुरक्षा व्यवस्थामा कमजोरी रहेको र सुरक्षा दलहरुको जवाफी कारवाही पनि अपेक्षा अनुरुप नभएको भन्दै आलोचना गरेको थियो।

चारजना हमलाकारीहरुलाई निरस्त गर्न केन्याका सुरक्षादलहरुलाई चार दिन लागेको थियो।

उनीहरु सबै सुरक्षा कारवाहीमा मारिएको ठानिएको छ।

उक्त व्यापारिक परिसरमा आगोले डढेका केही भवनहरुको भने अझै मर्मतसंभार गर्न बाँकी छ।