‘मस्यौदाबारे विदेशबाटै सुझाव दिन सकिने’

  • 19 जुलाई 2015
Image caption भावि संविधानप्रति अपनत्व महसुस गराउन विदेशबाट पनि सुझाव लिने व्यवस्था गरिएको बताइएको छ

संविधानको मस्यौदा माथि देशभरबाट जनताको राय संकलन तीव्र हुँदै गर्दा विदेशमा रहेका लाखौं नेपालीहरुलाई समेत सो प्रकृयामा सामेल गर्न विभिन्न व्यवस्था गरेको संविधानसभाले जनाएको छ।

बन्न लागेको संविधानप्रति विदेशमा रहेका नेपालीले पनि स्वामित्व महशुस गरुन भनेर उनीहरुको सुझाव खोजिएको हो।

२५ लाख हाराहारीमा विदेशमा काम गर्न गएको र ती बाहेक अन्य लाखौं नेपाली बाहिर रहेको हुनसक्ने भएकाले उनीहरुको सुझाव लिन आवश्यक रहेको संविधानसभाको सुझाव संकलन समितिको भनाई छ।

उपाए

उनीहरुले इमेल, वेबसाइट वा सिधै दूतावास मार्फत रायसुझाव दिन सक्ने व्यवस्था गरिएको छ।

खासगरी खाडीका देशहरुमा कार्यरत इन्टरनेटको पहूँचमा नहुने नेपाली कामदारहरुले राजदूतावासमै पुगेर आफ्नो राय दिन सक्छन्।

कतिपय देशमा रहेका नेपाली दूतावासले आफै अग्रसर भएर त्यहाँ कार्यरत आफ्ना नागरिकको राय संकलन गरिरहेको पनि बताइएको छ।

नागरिक सम्बन्ध तथा संविधान सुझाव समिति अन्तर्गतको आन्तरिक कार्यविधि तथा कार्ययोजना मस्यौदा उपसमितिकी संयोजक प्रभादेवी बज्राचार्य भन्छिन्, “दूतावास आफैले पनि नेपालीहरुलाई जम्मा गरेर सार्वजनिक सुनुवाई गरि सुझाव संकलन गरिरहेका छन्।”

हतार

मस्यौदा समितिले यहि साउन ७ गते संविधानसभामा रायसुझावबारे प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेकाले त्यसअघि नै विदेशबाट संकलन गरिएका सुझाव काठमाडौं ल्याइपुर्याउने व्यवस्था मिलाएको समितिले बताएको छ।

नागरिक सम्वन्ध समितिकी सभापति प्रमिला राणा भन्छिन्, “सवै काम फास्ट ट्रयाकमा भइरहेको छ। ७ गते त हामीले संविधानसभामा प्रतिवेदन बुझाउने नै भनेका छौं, त्यसभन्दा पहिल्यै सवै सुझाव आइपुग्नेछन्।”

कतिपय देशबाट राजनीतिक पार्टी सम्बद्ध व्यक्तिहरुले पार्टी-नीति अनुसार राय पठाइरहेको भएपनि स्वतन्त्र रुपमा राय सुझाव दिनेहरुले रुची नदेखाएको बताइएको छ।