टिम्बक्टुका प्राचीन स्मारक पुन: निर्माण

  • 19 जुलाई 2015
तस्वीर कपीराइट AFP

संयुक्त राष्ट्र संघको सांस्कृतिक संगठनले टिम्बक्टुमा रहेका विश्वप्रसिद्ध समाधिस्थलहरु नष्ट गरेकामा सन् २०१२ मा उत्तरी मालीलाई कब्जामा लिएका इस्लामबादीहरु विरुद्ध अनुसन्धान गर्न अन्तर्राष्ट्रिय फौजदारी अदालतलाई आग्रह गरेको छ।

राष्ट्र संघीय निकाय युनेस्कोकी महानिर्देशक इरिना बोकोभाले भनेकी छन् सांस्कृतिक सम्पदाहरुलाई नष्ट गर्ने कार्य हेग महासन्धी अनुसार युद्ध अपराध हो।

टिम्बक्टुमा नष्ट गरिएका विश्व प्रसिद्ध समाधिस्थलहरु मध्ये चौध वटा पुन:निर्माणपछि तिनको उद्धघाटनका क्रममा बोल्दै राष्ट्रसंघीय सांस्कृतिक निकायकी प्रमुखले अन्तर्राष्ट्रिय फौजदारी अदालतले दोषीहरु विरुद्ध छानविन गर्ने आशा व्यक्त गरेकी हुन्।

पन्ध्रौं र सोह्रौं शताब्दी तिर बनेका ति प्राचिन समाधीस्थलहरु तात्कालीन मुसलमान विद्वानहरुप्रति समर्पीत धार्मीकस्थलहरु हुन्।

संस्थापक

बामाकोमा रहेका बीबीसी सम्बाददाता एलेक्स डुभाल स्मीथ भन्छन्, "ति पवित्रस्थलमा टिम्बक्टुका संस्थापकहरुलाई समाधिस्थ गरिएका छन्।"

"र तिनीहरुलाई उक्त शहरका बासिन्दाहरु ठूला सन्तका रुपमा सम्मान गर्दछन्।"

तर कट्टरपन्थी इस्लामवादीहरु त्यस्तो श्रद्धालाई धर्म निन्दाका रुपमा लिने गर्छन्।

सन् २०१२ मा अलकायदा लगायतका उग्रवादी समूहरुले झण्डै एक बर्षसम्म टिम्बक्टुलाई आफ्नो नियन्त्रणमा लिएका थिए।

तिनीहरुले ति समाधीस्थलहरुलाई नष्ट गरेर माटोको ढिस्कोमा परिणत गरिदिएका थिए।

पाण्डुलिपी

उग्रवादीहरुले अन्य मस्जीदहरुलाई पनि नष्ट गरेका थिए भने प्राचिन पाण्डुलिपीहरु पनि जलाएका थिए।

स्थानीय कालीगढहरुले हालै मात्र ति १४ वटा पवित्र समाधीस्थलहरुको पुन:निर्माण सम्पनन गरेका थिए।

तस्वीर कपीराइट AP

युनेस्कोले मालिको प्राचिन सम्पदालाई जोगाउन थप असी लाख डलर आवश्यक रहेको बताएको छ।

सन् २०१३ मा फ्रान्सको सेनाले ति इस्लामवादीहरुलाई धपाइएर उक्त सहरलाई मुक्त गरेका थिए।

हाल उत्तरी मालि संयुक्त राष्ट्र संघीय शान्ति स्थापक सैन्यको संरक्षकत्वमा रहेको छ।