अल्जाइमर्सको उपचारमा नयां औषधिको सम्भावना

  • 22 जुलाई 2015
तस्वीर कपीराइट THINKSTOCK

भर्खरै प्रकाशित एक अनुसन्धानको नतिजा अनुसार एउटा प्रयोगात्मक औषधिले विश्वभरि लाखौं मानिसलाई प्रभावित पारेको अल्जाइमर्स रोगको विकासलाई सुस्त तुल्याउन सक्ने देखिएको छ।

औषधी निर्माता कम्पनी एली लिलीबाट प्राप्त तथ्यांक अनुसार सोलनेजुमाब नामक उक्त कम्पनीको औषधि विरामीहरुलाई रोगको प्रारम्भिक चरणमा नै दिइने हो भने त्यसले एक प्रकारको मानसिक समस्या डिमेन्सीयाको विकासलाई झण्डै एक तिहाइले सुस्त तुल्याउन सक्छ।

अल्जाइमर्स रोग संगठनको अन्तर्राष्ट्रिय सम्मेलनका बेला वाशिंगटनमा उक्त नयां जानकारी सार्वजनिक गरिएको थियो।

तर त्यसप्रति सावधानीपूर्ण प्रतिक्रिया व्यक्त गरिएको छ।

निर्णायक

अल्जाइमर्स रोगको उपचार सम्बन्धी अर्को नयां परिक्षणको नतिजा आगामी वर्ष सार्वजनिक गरिंदैछ त्यसपछि मात्र यो विषयमा निर्णायक प्रमाणहरु हासिल हुन सक्नेछन्।

अल्जाइमर्स रोग लागेका विरामीको मष्तिष्काका कोषहरु मर्दै जाने प्रकृयालाई हाल रोक्न सकिंदैन।

तस्वीर कपीराइट THINKSTOCK

तर सोलनेजुमाब औषधिले त्यस्ता कोषहरुलाई जीवितै राख्‍न सक्ने देखिएको छ।

एरीसेप्ट जस्ता हाल प्रचलनमा रहेका औषधिले मर्न लागेका मष्तिष्काका त्यस्ता कोषहरुलाई केही सकृय रहन मद्दत गर्दै स्मरणशक्ति हराउंदै जाने लगायतका मानसिक समस्या उत्पन्न गर्ने डिमेन्सीया रोगको लक्षणलाई मात्र व्यवस्थापन गर्न सक्छन्।

तर सोलनेजुमाबले अल्जाइमर्स रोगको क्रममा मष्तिष्कमा निर्माण हुने एमीलोइड नामका खराब प्रोटिनलाई आक्रमण गर्छ।

कोषको मृत्यु

मष्तिष्कका कोषहरुका बीचमा त्यस्तो चिपचिपे गुण भएका एमीलोइड उत्पन्न हुने कारणले गर्दा नै ती कोषहरुमा क्षति पुग्ने र अन्तत: मष्तिष्कका कोषहरुको मृत्यु हुने गरेको ठानिन्छ।

सोलनेजुमाब औषधिलाई लामो समय देखि नै डिमेन्सीयाको उपचार सम्बन्धी भैरहेको अनुसन्धानका क्रममा आशापूर्ण रुपमा हेरिंदै आइएको छ।

तस्वीर कपीराइट AFP

तर यसअघि १८ महिनासम्म गरिएके सो औषधिको प्रभावकारिताको प्रयोग सन् २०१२ मा असफलतामा टुंगिएको थियो।

उक्त औषधि निर्माता कम्पनी एली लिलीले त्यसबेलाको अनुसन्धानमा संलग्न र अल्जाइमर्सको प्रारम्भिक लक्षण मात्र देखिएका एक हजारजना बिरामीहरुलाई थप दुई वर्ष सो औषधि सेवन गर्न भनेको थियो।

त्यसपछि प्राप्त सकारात्क नतिजालाई नै हाल सार्वजनिक गरिएको हो।