मनसुन पूर्वानुमानको नयां आधार?

  • 22 जुलाई 2015
monsoon तस्वीर कपीराइट AP
Image caption दक्षिण एसियाली क्षेत्रमा मनसुनको पूर्वानुमान प्रभावकारी हुन नसकेको जानकारहरु बताउंछन्

हिन्द महासागरमा नदीहरु तथा वर्षाबाट प्राप्त हुने पानी अर्थात फ्रेस वाटरको एउटा प्रष्ट तह रहेको र त्यसले दक्षिण एसियाली क्षेत्रको मनसुनलाई प्रभावित पार्न सक्ने वैज्ञानिकहरुले बताएका छन्।

वैज्ञानिकहरुले मौसम पूर्वानुमान गर्ने प्रणालीमा नुनको मात्रा कम भएको पानीलाई आधार बनाउने विषयलाई समावेश गर्न आह्वान गरिरहेका छन्।

दक्षिण एसियाली मुलुकका जल तथा मौसम अधिकारीहरुले नदी तथा आकाशको पानीको भूमिकालाई विचार गर्ने विषयमा आफूहरु पछाडि परेको स्वीकार गरेका छन्।

जलवायु परिवर्तनसहितका कतिपय कारणले गर्दा उनीहरुले मनसुनी वर्षाको अनुमान गर्नका लागि अहिले नै संघर्ष गर्नुपरिरहेको छ।

भारत र छिमेकी मुलुकहरुमा हुने वर्षाको ७० प्रतिशत हिस्सा मनसुनी वर्षाको छ।

तर पछिल्ला केही वर्ष मनसुनमा समेत लामो सुख्खायाम हुने र छोटो अवधिमै भारी वर्षा हुने गरेपछि त्यसले दक्षिण एसियाली क्षेत्रमा चिन्ता उत्पन्न गराएको छ।

यस्तो प्रवृत्ति यसपटक पनि देखिन थालेको छ।

जुन महिनामा सामान्यभन्दा बढी वर्षा भयो भने जुलाई र अगष्टमा सामान्यभन्दा कम वर्षा हुने अनुमान गरिएको छ।

छुटेको विषय

दक्षिण एसिया क्षेत्रका केही मौसमविद्हरुले नदी तथा आकाशको पानीलाई पूर्वानुमानको आधार नबनाउंदा मनसुनको प्रभावकारी पूर्वानुमान हुन नसकेको विश्वास लिएका छन्।

गंगा, ब्रम्हापुत्र र इरावदी जस्ता प्रमुख नदीहरु बगेर बंगालको खाडीमा पुग्छन्।

अन्तर्राष्ट्रिय वैज्ञानिकहरुको एउटा टोलीले उक्त विषयमा अनुसन्धान गरिरहेको छ।

अमेरिकी विश्वविद्यालय युनिभर्सिटी अफ वासिंगटनका समुद्रसम्बन्धी विज्ञ एरिक डीअसारोले भने “नदी र वर्षाबाट प्राप्त हुने पानीले बंगालको खाडीलाई एउटा अदभूत ठाउं बनाइदिएको छ र त्यस्तो माध्यमबाट मिसिने पानीलाई ठीक ढंगले मनसुन पूर्वानुमानको आधारको रुपमा प्रयोग गरिएको छैन”।

भारत र अमेरिकाका वैज्ञानिकहरुसंग मिलेर बंगालको खाडीको अध्ययन गरिरहेका उनले थपे, “यसैका कारण उनीहरु(दक्षिण एसियाका मौसमविद्) ले मनसुनमा देखिएको परिवर्तनबारे पूर्वानुमान गर्न नसकेका हुन्”।

उनले भने, “नदी र वर्षाबाट प्राप्त हुने पानीले महासागरको पानीको सतहलाई झन पातलो र हलुका बनाउंछ जसका कारण मनसुनी बादलसंग कडा प्रतिक्रिया हुन्छ। तर नुनिलो पानीले उक्त प्रक्रिया ढिलो गराउंछ र मनसुनमा त्यसले कम प्रभाव पार्छ”।

ओसन मिक्सिंग एण्ड मनसुन नामक परियोजनासंग आवद्ध खोजकर्ताहरुले भनेका छन्, “नदी र वर्षाबाट प्राप्त हुने पानीको सतह समुद्रको १०० मिटरदेखि २० किलोमिटरसम्मको गहिराइमा भेटिएको छ”।

बंगलादेशको जल तथा मौसम विज्ञान विभागका उपमहानिर्देशक शम्सुद्धिन अहमद पछिल्लो खोजप्रति सकरात्मक देखिए। बंगलादेशको मौसम पूर्वानुमान प्रणाली वायुको गति, त्यसको दिशा र वायुमण्डलमा भएको वाष्पयुक्त पानीको मात्रामा आधारित छ।

अहमदले भने, “हामी रहेको क्षेत्रमा नदी वा आकाशको पानीमा आधारित रहेर मनसुनको पूर्वानुमान गर्ने प्रणाली रहेकोबारे मलाई ज्ञान छैन। तर मनसुनको सही पूर्वानुमानका लागि नदी र वर्षाबाट प्राप्त हुने पानीबारे गम्भीर अध्ययन गर्नु र त्यसलाई हाम्रो पूर्वानुमान प्रणालीमा समावेश गर्नु आवश्यक छ”।

पाकिस्तानको जल तथा मौसम विज्ञान विभागका अधिकारीहरुले विश्वव्यापी पूर्वानुमान प्रणालीबाट प्राप्त तथ्यांकहरुलाई आफूहरुले महत्व नदिने गरेको बताए।

मनसुनी वर्षाको पूर्वानुमानका लागि आफूहरुले सुमद्री सतहको तापक्रमलाई आधार मान्ने गरेको उनीहरुले बताए।

यसो गर्दा समुद्रमा मिसिने नदीको पानी वा आकाशे पानीलाई आधार नमानिएको उनीहरुले स्वीकार गरे।

पाकिस्तानमा हुने वर्षाको करिब ६० प्रतिशत हिस्सा हिन्द महासागरबाट उत्पन्न हुने मनसुनबाट प्राप्त हुन्छ।

बांकी वर्षा भने डिसेम्बर र फेब्रुअरीबीचको जाडो याममा अरब सागरबाट उत्पन्न हुने मनसुनी वर्षाबाट प्राप्त हुन्छ।

पाकिस्तानी मौसम विज्ञान विभागका एक जना निर्देशक महोम्मद हनिफले भने, “नदी वा वर्षाबाट प्राप्त हुने पानीलाई मनसुन पूर्वानुमानको आधार मान्ने भन्ने अवधारणसंग पाकिस्तानका मात्रै होइन समग्र दक्षिण एसियाकै वैज्ञानिकहरु परिचित छैनन् र हामीले यो पक्षलाई विचार गर्नुपर्छ”।

भारतीय प्रतिक्रिया

भारतको मौसम पूर्वानुमानसम्बन्धी एउटा स्वतन्त्र खोज संस्था इण्डियन इन्स्टिच्युट अफ ट्रपिकल मिटियरोलोजीका वैज्ञानिकहरु मनसुनसंग नदी र आकाशको पानीको सम्बन्धमा आधारित रहेर पूर्वानुमान प्रणालीलाई अद्यावधिक गर्नुपर्नेमा सहमत छन्।

तर भारतीय जल तथा मौसम विज्ञान विभागका प्रमुख एल एस ठाकुर भने यो विषय अझै अस्पष्ट रहेको बताउंछन्।

उनले भने, “समुद्री सतहको तापक्रमले निश्चित रुपमा मनसुनलाई असर पार्छ तर यसको प्रभाव लामो समयसम्म रहंदैन। अहिलेसम्म यो विषयमा अस्पष्ट बुझाइ छ। त्यसैले पहिले अनुसन्धानले नै कुराहरु स्पष्ट पारोस्”।

तर वैज्ञानिकहरुले भनेका छन्, बंगालको खाडी वरपरका मुलुकहरुले नदी र आकाशको पानीलाई समेत मनसुन पूर्वानुमानको आधार बनाउने हो भने पनि विस्तृत तथ्यांक उपलब्ध छैन।

बंगालको खाडीमा जारी खोज परियोजनामा संलग्न एकजना भारतीय मौसमविद् प्राध्यापक बीएन गोस्वामीले भने, “हाल हामीसंग नदीहरुमा पानीको बहावबारे तथ्यांक भएपनि मुलुकहरुबीचको संवेदनशीलताका कारण वर्षैपिच्छे हुने परिवर्तनबारे भने कुनै तथ्यांक छैन”।

उनले थपे, “ महासागरमा मिसिने नदीको पानी र आकाशे पानीको वर्षैपिच्छेको परिवर्तन हुने मात्राको तथ्यांक, मनसुनमा त्यसको प्रभावबारे बुझ्न महत्वपूर्ण हुनेछ”।

जलस्रोतसम्बन्धी तथ्यांकहरुको आदानप्रदान भारत र उसका छिमेकीहरुबीच वर्षौदेखि विवादको विषय बन्दै आएको छ।

प्राध्यापक गोस्वामीले भने, “नदी र वर्षाबाट प्राप्त हुने पानीले महासागरको नुनिलोपना र मनसुन प्रणालीहरुमा कस्तो प्रभाव पारिरहेको छ भनेर सांच्चै बुझ्न चाहने हो भने यो क्षेत्रका मुलुकहरु एउटा समझदारीमा पुग्नु पर्नेछ”।