‘बन्दुक नियन्त्रण गर्न नसक्नु निराशाको विषय’

  • 24 जुलाई 2015
तस्वीर कपीराइट AP
Image caption ओबामाले बन्दुक नियन्त्रणबारे कानुन नरहेको अमेरिका एकमात्र विकसित मुलुक भएको बताएका छन्

अमेरिकी राष्ट्रपति बराक ओबामाले बीबीसीसँगको विशेष अन्तरवार्तामा बन्दुक नियन्त्रण गर्न विफल हुनु आफ्नो कार्यकालको सबैभन्दा निराशाको विषय भएको भन्दै त्यसका निम्ति अझै लागि पर्ने बताएका छन्।

उनले सामूहिक हत्या दोहोरिने गरेपनि बन्दुक नियन्त्रणबारे कानुन नरहेको अमेरिका एकमात्र विकसित मुलुक भएको बताए।

ओबामाले भने, “यदि तपाईंले सेप्टेम्बर ११ को आक्रमणपछि आतंकवादीबाट मारिएका अमेरिकीहरुले संख्या हेर्नुहुन्छ भने उक्त संख्या सय जनाभन्दा कम छ, तर बन्दुकसम्बन्धी हिंसामा दशौं हजार अमेरिकीहरुले ज्यान गुमाएका छन्।”

सन् २०१२ मा स्याण्डी हूक स्कूलमा गरिएको आक्रमणपछि ओबामाले बन्दुकमाथि नियन्त्रण बढाउने प्रयास गरेका थिए।

विधेयक

तर त्यसम्बन्धी एउटा विधेयक कंग्रेसबाट पास हुन सकेन।

उनले उक्त मुद्दालाई संबोधन गर्न नसक्नु चिन्ताको विषय भएको बताए।

तर आफ्नो कार्यकालको बाँकी १८ महिनासम्म त्यसका निम्ति प्रयास जारी राख्नेमा उनले जोड दिए।

फरक प्रसंगमा ओबामाले विश्वव्यापी प्रभाव कायम राख्न चाहने हो भने ब्रिटेन युरोपियन युनियनमै रहनुपर्ने बताए।

प्रभाव

उनले इयुभित्र ब्रिटेनले आफ्नो प्रभावको अभ्यास जारी राख्ने कुराको सुनिश्चितता आफूले चाहेको उल्लेख गरे।

ओबामाको भनाईमा इयु एउटा यस्तो संस्था हो, जसले विश्वलाई सुरक्षित राखेको छ।

युरोपियन युनियनमा रहनुपर्छ वा पर्दैन भन्ने विषयमा ब्रिटेनले सन् २०१७ को अन्त्यसम्ममा जनमत संग्रह गराउने बताइएको छ।

ब्रिटिश प्रधानमन्त्रीका एकजना प्रवक्ताका अनुसार युरोपबारे ब्रिटिश जनताका चासोलाई संबोधन गर्नु जनमत संग्रहको उद्देश्य रहेको छ।