पाँचदिने युद्धविराम गर्ने गठबन्धन फौजको घोषणा

  • 26 जुलाई 2015
तस्वीर कपीराइट AP
Image caption युद्धविरामका बेला विद्रोहीले आक्रमण गरे त्यसको प्रतिकार गरिने गठबन्धन फौजले जनाएको छ

नागरिकहरुसम्म सहायता सामग्री पुर्याउन सकियोस् भन्दै साउदी अरेबिया नेतृत्वको गठबन्धन फौजले आइतबार मध्यरातबाट लागू हुने गरी यमनमा पाँच दिनका लागि संघर्षविराम गर्न लागेको जनाएको छ।

साउदी अरबको सरकारी समाचार संस्थाका अनुसार आइतबार मध्यरातिदेखि उक्त निर्णय कार्यान्वयन हुनेछ।

साउदी अरेबिया नेतृत्वको गठबन्धन फौजले संघर्षविरामका बेला शिया हूथी विद्रोहीले सैन्य गतिविधि सञ्चालन गरे त्यसको प्रतिकार गर्ने अधिकार आफूसँग सुरक्षित रहेको जनाएको छ।

गठबन्धन फौजले ताइज प्रान्तमा गरेको हवाई हमलामा सर्वसाधारणसहित १ सय २० जना मारिएको खबरबीच संघर्षविरामको घोषणा गरिएको छ।

प्रवृति

समाचार संस्था एपीका अनुसार मोखा शहरको आवासीय क्षेत्रमा शुक्रबार गठबन्धन फौजले क्षेप्यास्त्र प्रहार गरेको थियो।

आक्रमणबाट घरहरु ध्वस्त भएका छन्।

उक्त आक्रमणमा मारिनेहरुमा बालबालिका र वृद्ध पनि छन्।

स्वास्थ्यसँग सम्बन्धित परोपकारी संस्था डक्टर्स विदआउट बोर्डर्सका हसन बौसेनाइनले भने, “यो घटनाले गठबन्धन फौजले गर्ने गरेको कारवाहीको प्रवृति देखाउँछ, अहिले घर, बजार जे पनि निशाना बन्न थालेका छन्।”

अभाव

ताइजका एकजना बासिन्दा अब्दुल कादिर गुनैदले डिजेल, तरकारी लगायतका आधारभूत सामानहरुको अभाव देखिएको बीबीसीलाई बताए।

उनले भने, “बत्ति छैन्, इन्टरनेट काटिएको छ, सबथोक काटिएका छन्।”

सहायता संस्थाहरुका अनुसार अवरोधका कारण यमनमा मानवीय संकट झन बिग्रिदै गएको छ।

यमनको साढे २ करोड जनसंख्यामध्ये ८० प्रतिशतभन्दा बढीलाई सहायताको खाँचो रहेको बताइन्छ।