भारतका पूर्व राष्ट्रपति कलामको निधन

  • 27 जुलाई 2015
तस्वीर कपीराइट AFP

भारतका पूर्व राष्ट्रपति एपीजे अब्दुल कलामको सोमबार निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

८४ वर्षे कलाम मेघालय राज्यको शिलोंगमा एउटा कार्यक्रममा भाषण गर्ने क्रममा लडेका बताइएको छ।

गम्भीर हालतमा स्थानीय अस्पताल भर्ना गरिएका उनको उपचारको क्रममा निधन भएको हो।

चिकित्सकहरुले हृदयघातका कारण उनको निधन भएको बताएका छन्।

वैज्ञानिक

भारतका परमाणु पिताका रुपमा चिनिने कलाम प्रसिद्ध क्षेप्यास्त्र वैज्ञानिक हुन्।

मुलुकको क्षेप्यास्त्रको क्षेत्रमा उनले पुर्याएको योगदानको सम्मानमा कलामलाई भारतमा ‘मिसाइल म्यान’ भनेर समेत चिनिन्छ।

उनी सन् २००२ देखि पांच वर्षसम्मका लागि भारतको राष्ट्रपति भएका थिए।

कलामको जन्म सन् १९३१ मा दक्षिण भारतको रामेश्वरममा अत्यन्तै विपन्न परिवारमा भएको थियो।

उनका पिता एकजना माझी थिए।

तस्वीर कपीराइट AFP

अभाव

बाल्यकाल अभावमा गुजारेका अत्यन्तै तीक्ष्ण कलाम पछि भारतको कहलिएको वैज्ञानिक बन्न पुगे।

सन् १९९८ मा भारतले गरेको पोखरन परमाणु परीक्षणमा उनको महत्वपूर्ण भूमिका थियो।

उक्त परीक्षण सन् १९७४ पछिको पहिलो थियो।

स्वतन्त्र भारतको ११ औँ राष्ट्रपति कलाम भारतको सबैभन्दा उच्च सम्मानमध्येको भारत रत्न र पद्म भूषणबाट विभूषित थिए।