सामूहिक चिहानको उत्खनन सुरु

  • 28 जुलाई 2015
तस्वीर कपीराइट BBC World Service
Image caption सम्भावित पीडितका नातेदारहरुले उत्खननअघि त्यस ठाउँमा स्मृति कार्यक्रम गरेका थिए

कोलम्बियाका अधिकारीहरुले विश्वकै एउटा ठूलो ठानिएको सहरी सामूहिक चिहानको उत्खनन सुरु गरेका छन्।

मेडेलीन सहरको झोपडी रहेका क्षेत्रमा फोरेन्सिक विज्ञहरुले शव खोज्न ल्याण्डफिल साइटबाट हजारौं टन फोहर हटाउन थालेका छन्।

उत्खनन पुरा गर्न पाँच महिना लाग्ने अनुमान गरिएको छ।

सम्भावित पीडितका नातेदारहरुले उत्खनन सुरु हुनुअघि त्यस ठाउँमा एउटा स्मृति कार्यक्रम गरेका थिए।

एक दशक

उनीहरुले त्यहाँ फूलका थुङ्गा अर्पण गर्नुका साथै आफन्तका तस्बिरहरु राखेका थिए।

कोलम्बियाको राजधानी बोगोटाबाट हाम्रा सम्वाददाता नाटालियो कोसोय भन्छन्, “ल्याण्डफिल साइटमा करिव ९० वटा शव पुरिएको अनुमान गरिएको छ। तर पीडितका संगठनहरुले त्यो संख्या तीन सयसम्म हुनसक्ने बताएका छन्।”

ती संगठनहरुले ल्याण्डफिल साइटमा फोहर फाल्ने काम रोक्न र उत्खननको निम्ति माग गर्दा गर्दै एक दशकभन्दा लामो समय बितिसकेको छ।

वेपत्ता आफन्तको पक्षमा न्यायको निम्ति लडिरहेका महिलाहरुको एउटा संगठनकी नेतृ तथा बेपत्ता पतिको खोजीमा रहेकी लुस एलेना गलेआनोले भनिन्, “यहाँसम्म आइपुग्न हामीलाई १३ वर्ष लाग्यो।”

राष्ट्रपति अल्बारो उरुबेले सन् २००२ मा त्यस क्षेत्रमा वामपन्थी लडाकूहरु विरुद्ध सैन्य कारवाही गर्न निर्देशन दिएपछि सेना र अर्धसैन्य बलहरुले संयुक्त कारवाही गरेका थिए।

गृहनगर

कोलम्बियामा वामपन्थी लडाकू संगठन फार्क र सेनाबीच भएको पाँच दशक लामो लडाईँका क्रममा दुई लाख मानिसको ज्यान गइसकेको छ भने तीस हजारभन्दा बढी मानिसहरु बेपत्ता भएको अनुमान गरिएको छ।

दुबै पक्ष क्युबामा शुरु भएको शान्ति वार्ता करिव तीन वर्षदेखि व्यस्त छन्।

यो महिनाको सुरुमा सरकारले एकपक्षीय युद्धविराम गरेको फार्क लडाकूहरु विरुद्धको कारवाही खुकुलो बनाउने घोषणा गरेको थियो।

वेपत्ताका कतिपय घट्नामा आपराधिक संगठनहरुको पनि संलग्नता रहेको आरोप छ।

मेडेलीन कुनै बेला विश्वकै सबैभन्दा हिंसाग्रस्त सहरहरु मध्येको एक थियो।

त्यो सहर सन् १९९३ मा मारिएका लागु औषध कारोबारी संगठन मेडेलीन कार्टेलका नेतृत्वकर्ता पाब्लो एस्कोबारको गृहनगर हो।