टर्कीद्वारा नेटोको विशेष बैठक आह्वान

  • 27 जुलाई 2015
तस्वीर कपीराइट Getty
Image caption इस्लामिक स्टेट र कुर्दिश पृथकतावादीहरुलाई लक्षित गर्दै टर्कीले हवाई कारवाही गरिरहेको छ

इस्लामिक स्टेट र पीकेके कुर्दिश पृथकतावादीहरुविरुद्ध सैन्य कारवाही गरिरहेको टर्कीले उनीहरुको सामना गर्ने विषयमा छलफल गर्न उत्तर एटलान्टिक सन्धि संगठन नेटोका राजदूतहरुको विशेष बैठक डाकेको छ।

ब्रसेल्समा मंगलबार उक्त बैठक बस्ने तय भएको छ।

नेटो सन्धिको धारा ४ मा सदस्य मुलुकको भौगोलिक अखण्डता वा सुरक्षामा खतरा उत्पन्न भए विशेष बैठक डाक्न सक्ने व्यवस्था भए अनुसार टर्कीले बैठक बोलाएको नेटोका महासचिव जेन्स स्टोलेन्वर्गले बीबीसी वर्ल्ड टीभीलाई बताए।

उनले भने, “मैले पनि आइएस र आतंकवादविरुद्ध लड्ने प्रयास बढाएकोमा, सीमामा नियन्त्रण बढाउने र विदेशी लडाकुहरुलाई रोक्ने कार्य गरेकोमा टर्किश प्रधानमन्त्री एवम् टर्कीको प्रशंसा गरेँ।”

कारवाही

पछिल्ला आक्रमणहरुपछि टर्कीले सिरियामा इस्लामिक स्टेटविरुद्ध हवाई कारवाही शुरु गरेको छ।

उत्तरी इराकमा पीकेके पृथकतावादीद्वारा सञ्चालित लडाकु शिविरहरुमाथि पनि उसले पुनः हवाई आक्रमण थालेको छ।

सिरियासँगको सीमा नजिकै गत सोमबार आइएस लडाकुले गराएको भनिएको आत्मघाती बम विष्फोटमा कम्तीमा ३२ जनाको ज्यान गएको थियो।

आफूहरुविरुद्ध भइरहेको बमबारीको बदला लिन पीकेकेले गरेको आक्रमणमा एकजना टर्किश प्रहरी मारिएका छन्।

बमबारी

विगत दुई वर्षदेखिको युद्धविरामपछि टर्कीले उत्तरी इराकमा पीकेके पृथकतावादीद्वारा सञ्चालित लडाकु शिविरहरुमाथि आक्रमण गरेको छ।

टर्कीको सरकारी सञ्चारमाध्यम अनुसार टर्किश लडाकु विमानहरुले उत्तरी इराकमा आइतबारदेखि ताजा कारवाही शुरु गरेका छन्।

पीकेकेका एकजना प्रवक्ताले समाचार संस्था एएफपीलाई बताए अनुसार टर्किश लडाकु विमानहरुले डोहुक र इर्बिलको उत्तरतर्फ रहेका अखडामा बमबारी गरेका छन्।

शनिबार अबेर दक्षिण-पूर्वी टर्कीमा सैन्य सवारीहरुको लस्करलाई लक्षित गरी गराइएको एउटा कार बम विष्फोटमा दुईजना सैनिक मारिएका थिए भने अन्य ४ जना घाइते भएको अधिकारीहरुले बताएका छन्।