‘ब्रिटेन छिर्न खोज्ने दुई हजार आप्रवासी पक्राउ’

  • 29 जुलाई 2015
तस्वीर कपीराइट Reuters
Image caption लामो समयदेखि आप्रवासीहरुले च्यानल टनल लाई ब्रिटेन पुग्ने बाटोको रुपमा प्रयोग गर्दै आएका छन्

फ्रान्स र ब्रिटेनलाई जोड्ने समुन्द्र मुनिको च्यानल टनल अर्थात सुरुङमार्ग हुँदै सोमबार राति ब्रिटेन प्रवेश गर्न खोज्ने आप्रवासीहरुको संख्या दुई हजार पुगेको युरो टनलका एकजना प्रवक्ताले बताएका छन्।

प्रवेश नाकामा सुरक्षा बढाइएको भएपनि लामो समयदेखि आप्रवासीहरुले उक्त सुरुङ मार्गलाई ब्रिटेन पुग्ने बाटोको रुपमा प्रयोग गर्दै आएका छन्।

ब्रिटेन जान लागेका सवारी साधनभित्र लु्केका वा च्यानल टनलको वरपर लगाइएको बार नाघ्न खोजिरहेका दुइ हजार आप्रवासीहरुलाई एकैरातमा पक्राउ गरिएको फ्रान्सको प्रहरीले जनाएको छ।

युरो टनलका प्रवक्ताका अनुसार पक्राउ पर्ने आप्रवासीहरुको कम्तीमा यो महिनाभित्रको यो ठूलो संख्या हो।

समाधान

उनका अनुसार आप्रवासीहरुले एक रातमै पटक पटक प्रयत्न गरेका थिए र घटनामा कति संलग्न थिए भन्ने पत्ता लगाउन गाह्रो भएको छ।

समस्यासँग जुझ्न उनका सबै दुइ सय कर्मचारी र प्रहरी परिचालन गरेको सुरुङ सञ्चालकले बताएका छन्।

घटनामा केही मानिसहरु घाईते भएका छन्।

ब्रिटेनकी गृहमन्त्री थेरेसा मेले समस्या समाधानका निम्ति दुवै मुलुक लागिपरेको बताइन्।

उनले भनिन्, “आप्रवासीहरुलाई फिर्ता पठाउनका निम्ति मिलेर काम गर्न खासगरी पश्चिम अफ्रिकाका आप्रवासीहरुलाई यो यात्रा गरेर युरोप पुग्न नसकिने र यहाँ बस्न सक्षम हुन नसकिने कुरा सुनिश्चित गर्न हामी सहमत भएका छौँ।”

दबाब

फ्रान्सको उत्तरमा रहेको कालेय बन्दरगाह भएर जान खोज्ने आप्रवासी र प्रहरीबीच दैनिकजसो हुने झडपले ब्रिटेनका अधिकारीहरुमाथि दबाब सृजना भएको बताइन्छ।

चालकहरुले लामो लाइन र भद्रगोल अवस्थाको सामना गर्नुपर्छ।

ब्रिटेन प्रवेश गर्नका निम्ति सुडान, एरिट्रिआ र अफगानिस्तान लगायत मुलुकका करिब तीन हजार आप्रवासीहरु कालेय बन्दरगाह नजिकैको एउटा शिविरमा बसिरहेको बताइएको छ।

नयाँ सुरक्षा कदमहरुको अर्थ आप्रवासीहरुले थप जोखिम मोल्नुपर्ने हुन सक्छ।

र, पछिल्ला केही साताहरुमा धेरैको ज्यान गएको छ।