नागरिकताको प्रावधान 'अव्यवहारिक'

  • 3 अगस्ट 2015
Image caption नागरिकताबारे सबैजसो देशमा कडा व्यवस्था हुने गरेको तर्क गरिन्छ

संविधानको मस्यौदामा यस अघि नभएको व्यवस्था थपिएको छ: बाबु वा आमा एक विदेशी छन् भने तिनका सन्तानले नेपाली नागरिकता पाउन नेपालमै जन्मनु पर्नेछ।

अहिलेकै मस्यौदा पारित भए नयाँ जन्मने कैयौं मानिस राज्यविहीन बन्ने र संसारको जुन कुनामा भएपनि बच्चा जन्माउन नेपाल आउनुपर्ने जस्ता व्यवहारिक समस्या आइलाग्ने विभिन्न दलका नेताले बताएका छन्।

अन्तरिम संविधान २०६३ सालकै व्यवस्थामा फर्के बरु नागरिकताबारे थुप्रै समस्या समाधान हुने कतिपय नेताहरुले बताउन थालेका छन्।

मस्यौदाको तीनवटा धारामा नागरिकता जन्मको आधारमा दिने व्यवस्था गरिएको छ।

कठोर

धारा १२ (१) (ख) , धारा १२ (४ ) र धारा १३ (३)मा बाबु वा आमा मध्ये एक विदेशी रहेछन् भने र तिनले सन्तान नेपालमा जन्माए भने मात्र नेपाली नागरिकता दिन मिल्ने भनिएको छ।

यो अन्तरिम संविधानभन्दा कठोर भयो भन्छन्, मस्यौदा लेखनमा सहभागी नेपाली कांग्रेस सभासद तथा कानुनविद राधेश्याम अधिकारी।

अधिकारी भन्छन्, “अन्तरिम संविधानमा भएको व्यवस्था भन्दा यसमानेमा कठोर छ यसले दुइ शर्त थप्यो एउटा जन्म नेपालमै भएको हुनुपर्यो, दोश्रो उसले नागरिकता लिन जाँदा बाबु र आमा दुवैको नागरिकता नेपालको हुनुपर्यो।”

यि व्यवस्थाले विदेशी विवाह गर्ने नेपालीलाई पिरोल्ने ठानिएको छ।

'व्यवहारिक समस्या'

खासगरी भारतसँग बाक्लो विहेबारी चल्ने तराइमा यो व्यवस्था व्यवहारिक समस्याका रुपमा आउने बताउँछन् सदभावना पार्टीका नेता लक्ष्मणलाल कर्ण।

उनी भन्छन्, “मधेशमा पहिलो बच्चा त माइतीमा जन्माउँदो रहेछ फेरि बोर्डरमा हेर्नुभयो भने राम्रा अस्पतालहरु पारी छ त्यहाँ जान्छ त्यस किसिमको भाषा गलत हो त्यो लेख्नुहुँदैन।”

संविधानसभाको ७ वर्ष लामो इतिहासमा नागरिकताबारे भएका बहसका बेला कैयौं सभासदले अहिले आएको मस्यौदा भन्दा पनि कठोर व्यवस्था गर्नुपर्ने माग गर्ने गरेको नेताहरु बताउँछन्।

तर कडा गर्ने भनेर कसैलाई राज्यविहीन बनाउन हुँदैन भन्छन् एमाओवादी नेता नारायणकाजी श्रेष्ठ।

'पारित हुन्न'

उनी भन्छन् “नेपालमा जन्म हुने भनेर उहाँहरुले थपिदिनुभएछ र त्यसले नेपाली जनताको यसलाई कायम राख्ने कुरा त कुनै पनि हालतमा हुन सक्दैन हेर्दै जानोस त्यो त कुनै पनि हालतमा संविधानमा रहन्न।”

तर एमाले नेता भीम रावल मस्यौदा संविधानमा रहेको 'नेपालमा जन्म' भन्ने शब्दावलीको अपव्याख्या गरिएको ठान्छन्।

उनी भन्छन्, "नेपाली पुरुषसँग विहे गर्ने विदेशी महिलालाई त तत्काल नेपालको अंगीकृत नागरिकता पाउने हक छ। बच्चा बालिग बनुन्जेल आमाले नागरिकता लिइन् भने बच्चा जहाँ जन्मे पनि नेपाली नागरिक बन्न सकिहाल्छ।"

तर आमाले नेपाली नागरिकता लिन अस्वीकार गरेको खण्डमा र बच्चाले पछि गएर नेपाली नागरिकता लिन खोजेको खण्डमा अहिलेको नियमले त्यो प्राप्त हुन सक्दैन।

२०६३ सालको अन्तरिम संविधानमा बाबु वा आमाका नाममा सन्तानलाई नागरिकता दिन मिल्ने व्यवस्थाबाट महिला अधिकारकर्मी सन्तुष्ट थिए।

त्यसमा विदेशी बाबु वा आमा हुनेले नेपाली नागरिकता पाउन नेपालमा जन्म हुनुपर्ने भनिएको पनि थिएन।

त्यसैले कैयौंले बरु पुरानै व्यवस्था बरु ठिक भन्न थालेका छन् ।