कांग्रेस-एमालेबीच नियुक्तिलाई लिएर खटपट

  • 31 जुलाई 2015
Image caption भूकम्प गएको एक सय दिन हुन लाग्दा पनि प्राधिकरणका प्रमुख नतोकिएको भन्दै सरकारको आलोचना हुन थालेको छ

सरकारको मुख्य सचिव तथा पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारीको नियुक्तिसम्बन्धी विषयमा सत्ताधारी प्रमुख दुई दलबीच विवाद चर्किएको छ।

संयुक्त सरकार हुँदाहुँदै ती नियुक्तिमा प्रधानमन्त्रीको विशेषाधिकार रहेको भनेर नेपाली कांग्रेसले गरेको जिकिरप्रति नेकपा एमालेले गम्भीर आपत्ती प्रकट गरेको उक्त दलका नेताले जनाएका छन्।

कांग्रेसका नेताले भने चाँडै यी विवाद सल्टाइने प्रतिक्रिया दिएका छन्।

नयाँ संविधान आउने बित्तिकै पद छाड्ने भनेका प्रधानमन्त्री सुशील कोइरालाले नयाँ संविधान आएपछि प्रधानमन्त्रीका प्रबल दाबेदार ठानिएका नेकपा एमालेका अध्यक्ष के पी ओलीसंग गरेको शुक्रबारको भेटमा मुख्य सचिव र पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारीमा कसलाई नियुक्ति गर्ने भन्नेबारे विवाद उत्पन्न भएको छ।

असहमति

त्यसबारे खुलेर दुवै पक्षले केही नबताए पनि कांग्रेसको व्यवहारबाट असन्तुष्ट भएको नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलको प्रष्ट जवाफ थियो।

उनले भने, "संयुक्त सरकार सञ्चालनका निश्चित विधि र व्यवस्थाहरु हुन्छन्। तर अहिले के भयो भने महत्वपूर्ण एजेन्डाहरुमा यो त प्रधानमन्त्रीको विशेषाधिकार हो भन्ने कोणबाट विषयहरु प्रस्तुत हुन थालेका छन्। यो तरिकासंग हाम्रो असहमति हो।"

प्रधानमन्त्रीको विशेषाधिकारबारे आफुहरुको जोड रहेको बताउँदै कांग्रेसका नेता तथा उपप्रधानमन्त्री प्रकाशमान सिंहले भने, "यो विषय प्रधानमन्त्रीको विशेषाधिकारको हो। यो उहाँले चाँडै कुरा गरेर मिलाउनुहुन्छ।"

ती दुई पदको नियुक्तिमा देखिएको त्यस्तो असहमतिलाई दलीय भागबन्डा नमिलेको भन्ने चर्चा चल्दै गर्दा पौडेलले त्यसलाई ठाडै अस्वीकार गरे।

असर

उनले भने, "यो एमाले वा कांग्रेसबीच भागबन्डा गर्ने विषय होइन। प्राधिकरणको प्रमुख कार्यकारीमा भूकम्पपछिको चुनौतीसंग जुध्ने ल्याकत भएको योग्यतम व्यक्ति पदस्थापन हुनुपर्छ भने मुख्य सचिवको पदमा पनि योग्यहरुमध्ये सबभन्दा उपयुक्त नियुक्त हुनुपर्छ।"

प्राधिकरणको कार्यकारीको नियुक्ति नहुँदा भूकम्पपछिको पुनर्निर्माण कार्यमा असर परेको र दाताहरु असन्तुष्ट बनेको बताइएको छ।

मुख्य सचिवको हकमा शुक्रबारपनि कुनै निर्णय नभएका कारण अवकाश प्राप्त हुनुभन्दा एक साता अघि अर्थात आगामी आइतबारदेखि बिदा बस्ने भनी बताएका लिलामणि पौडेलले अब बिदा बस्न नमिल्ने स्थिति आएको बताएका छन्।