इबोला खोप परीक्षण 'शतप्रतिशत सुरक्षित'

  • 31 जुलाई 2015
तस्वीर कपीराइट Getty
Image caption इबोला संक्रमणका कारण ११ हजार जना भन्दा बढीको ज्यान गैसकेको छ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार गीनीमा गरिएको इबोला विरुद्धको एउटा खोपको परीक्षणले शत प्रतिशत सुरक्षित परिणाम दिएको छ।

सो सफलताले उक्त प्राणघातक रोगको प्रभावकारी खोपको नजिकै अब विश्व पुगेको संकेत दिएको पनि संगठनले जनाएको छ।

इबोला संक्रमितसँग तत्कालै निकट रहेका हजारौँ मानिसमा गरिएको परीक्षणमा १० दिनपछि कसैलाई पनि संक्रमण नदेखिएको बताइएको छ।

उक्त खोपले अहिले पनि इजाजतपत्र पाएको छैन, तर त्यसलाई व्यापक रुपमा वितरण गर्ने तयारी थालिएको छ।

संकेत

इबोला भाइरसविरुद्धको खोपको परीक्षणले शत प्रतिशत परिणाम दिएको र त्यसले उक्त प्राणघातक रोगको नियन्त्रणका लागि भइरहेका प्रयासलाई आमूल परिवर्तन गर्न सक्ने प्रारम्भिक नतिजाले संकेत गरेको छ।

गीनीमा डिसेम्बर २०१३ मा इतिहासकै सबैभन्दा ठूलो इबोला संक्रमण शुरु भए यता कुनै प्रामाणिक औषधी वा खोप पत्ता लागेको थिएन।

तर दि ल्यान्सेट जर्नलमा प्रकाशन हुन लागेको एउटा नयाँ अनुसन्धानको निष्कर्षले एकदमै नयाँ तथ्य बाहिर ल्याउन लागेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

विज्ञहरुले उक्त नतिजालाई असाधारण भनेका छन्।

क्यानडाको पब्लिक हेल्थ एजेन्सीले शुरुमा निकालेको तथा पछि औषधि उत्पादक कम्पनी मर्कले विकास गरेको भीएसभी इबीओभी खोपबाट पछिल्लो सकारात्मक परिणाम देखिएको हो।

सो खोपमा इबोला भाइरसको अंशलाई एउटा सुरक्षित भाइरससँग मिलाएर इबोलाको संक्रमणसँग प्रतिरोध गर्न सक्ने बनाइएको थियो।

उक्त खोपको मौलिक परीक्षण गीनीमा गरिएको थियो।

अध्ययन

कुनै पनि बिरामीमा इबोला देखिएपछि उसका आफन्त, छिमेकी र परिवारका सदस्यलाई खोप लगाएर उनीहरुको इबोला प्रतिरोधी समूह बनाइएको थियो।

अप्रिल र जुलाईको बीचमा सय जना इबोला संक्रमितलाई पहिचान गरी उनीहरुका आफन्तलाई तत्काल वा तीन हप्तापछि खोप लगाइएको थियो।

त्यसरी तत्कालै खोप दिइएका २ हजार १४ जना मध्ये कसैमा पनि इबोला नदेखिएको तर पछि खोप लगाइएकाहरुमा १६ वटा संक्रमण पाइएको दि ल्यान्सेटमा प्रकाशित अध्ययनमा उल्लेख छ।

अब गीनीमा इबोलाका बिरामीका आफन्तलाई तत्कालै खोप लगाइने र उक्त खोप सुरक्षित पाइएकाले बालबालिकामा पनि विस्तार गरिने बताइएको छ।

निस्कर्ष

पछिल्लो निष्कर्षलाई विश्वले कुरिरहेको महत्वपूर्ण प्रगति भनिएको छ।

तर हालको नतिजा प्रारम्भिकमात्र भएको र थप तथ्यांक आइरहेकाले त्यसलाई सावधानीपूर्वक हेरिएको छ।

तर विश्व स्वास्थ्य संगठनका अधिकारीहरुले पछिल्लो खोपको प्रभावकारिता ७५ देखि १०० प्रतिशतसम्म पुग्नसक्ने विश्वास गरेका छन्।

यदि अहिलेको खोप १८ महिना अघि नै ल्याउन सकिएको भए हजारौँको जीवन बचाउन सकिने थियो।