‘राष्ट्रिय गौरवका धेरै परियोजना सुस्त’

  • 1 अगस्ट 2015
तस्वीर कपीराइट bbc
Image caption मध्यपहाडी लोकमार्ग जस्ता आयोजनाको कामप्रति समितिले सन्तोष व्यक्त गरेको छ

राष्ट्रिय गौरवका भनिएका ठूला र महत्वपूर्ण पूर्वाधारका आयोजनाहरुमध्ये धेरैको निर्माण काम सुस्त रहेको व्यवस्थापिका संसदको विकास समितिले जनाएको छ।

सरकारले राष्ट्रिय गौरवका भनेको सडकमार्ग, रेलमार्ग, विमानस्थल, प्राकृतिक संरक्षण र धार्मिक क्षेत्र विकास लगायत २१ वटा आयोजनामध्ये सातवटा बाहेक अन्यको निर्माण कार्यले गति लिन नसकेको समितिको भनाई छ।

जिम्मेवार को?

गति लिन नसकेका आयोजनाहरुमा रेल्वे तथा मेट्रो विकास, हुलाकी राजमार्ग, काठमाण्डू-तराई द्रूतमार्ग, निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, बुढीगण्डकी जलबिद्युत, पश्चिम सेती जलबिद्युत, कर्णालीक्षेत्रलाई आधार बनाएर निर्माण गर्ने भनिएको उत्तर-दक्षिण लोकमार्ग छन्।

राष्ट्रिय गौरवका आयोजनालाई तीव्रता दिन भन्दै वार्षिक बजेटमै प्राथामिकता दिइएको थियो।

तर विकास समितिका ठम्याईमा सरकारले निर्माणमा तत्परता देखाएन्।

समितिका सभापति रवीन्द्र अधिकारी भन्छन्, "आयोजना संचालन गर्ने सन्दर्भमा सरकारको उदासिनता, आयोजना प्रमुखले निर्वाह गर्नु पर्ने जिम्मेवारी तथा सरकार र जनस्तरबाट प्राप्त हुनु पर्ने सहयोग नहुँदा जुन मात्रामा काम अघि बढ्नु पर्ने थियो, त्यो रुपमा हुन सकेको छैन।"

सन्तोषजनक

Image caption लोडसेडिङ घटाउन खाँचो पर्ने जलविद्युत आयोजनामा पनि ढिलाई भइरहेका छन्

उनका अनुसार समितिले लगातार राष्ट्रिय गौरवका आयोजनाका प्रगतिका बारेमा सम्बन्धित निकायसँग छलफल गरिरहेको छ।

आयोजनाहरुका काम अगाडि बढाउन आफूहरुले मेहेनत गररहेको बताउने सभापति अधिकारी त्यसमा छिट्टै प्रगति हुने विश्वासमा छन्।

उनले भने, "आउने वर्षमा अन्य आयोजनाहरुले गति लिने छन् र १५/१६ वटा आयोजनाहरु अगाडि बढेको देख्न सकिनेछ।"

समितिले मध्य पहाडी लोकमार्ग, मेलाम्ची खानेपानी तथा सिक्टा, रानीजमरा र बबई सिंचाई आयोजना अनि भैरहवा र पोखरा विमानस्थललाई क्षेत्रीय विमानस्थलको रुपमा स्तरोन्नती गर्ने काम भने सन्तोषजनक छ।