ग्याँस उत्सर्जन कटौती गर्ने अमेरिकी योजना

  • 4 अगस्ट 2015
तस्वीर कपीराइट AP
Image caption १५ वर्षमा हरितगृह ग्याँस उत्सर्जन करिव एक तिहाईले कटौती गर्ने योजनाको लक्ष्य छ

अमेरिकाले हतिरगृह ग्याँस उत्सर्जन कटौतीसम्बन्धी एउटा महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ।

अमेरिकी उर्जा केन्द्रबाट उत्सर्जन हुने कार्बन डाइअक्साईड जस्ता हरितगृह ग्याँस उत्सर्जन सन् २०३० भन्दाअघि करिव एक तिहाईले कटौती गर्ने ‘क्लिन पावर प्लान’ को लक्ष्य छ।

अमेरिकी राष्ट्रपति बराक ओबामाले जलवायु परिवर्तनसँग जुध्न त्यो ‘अमेरिकाले यसअघि कहिल्यै नउठाएको अति महत्वपूर्ण’ योजना भएको बताए।

राष्ट्रसंघ र युरोपेली युनियनले योजनाको प्रशंसा गरेका छन्।

राष्ट्रसंघका महासचिवका एकजना प्रवक्ता स्टेफन ड्युजरिकले भने, “योजना जलवायु परिवर्तसँग जुध्न अत्यावश्यक ग्याँस उत्सर्जन कटौतीका निम्ति दूरदर्शी नेतृत्वको एउटा उदाहरण हो।”

ओबामाले जलवायुको मुद्दा सम्बोधन गर्न सक्ने अहिलेको पुस्ता अन्तिम भएको टिप्पणी पनि गरे।

तर उक्त योजनाले अमेरिकी अर्थतन्त्रमा क्षति पुर्याउने भन्दै रिपब्लिकन नेताहरुले त्यसको विरोध गर्ने बताए।

सम्बाददाताहरु भन्छन्, “ओबामाले सार्वजनिक गरेको योजनाको लक्ष्यलाई जलवायु परिवर्तन सम्बन्धि डिसेम्बर महिनामा पेरिसमा हुने सम्मेलनअघि अन्य देशहरुका निम्ति चुनौतिको रुपमा हेरिएको छ।”

अमेरिकालाई आवश्यक ऊर्जामध्ये कोइलाबाट एक तिहाइभन्दा बढी उत्पादन हुने गर्छ।