तालेवानका कतार प्रतिनिधिद्वारा राजीनामा

  • 5 अगस्ट 2015
तस्वीर कपीराइट
Image caption अफगान सरकारले मुल्लाह ओमारको निधन दुई वर्ष अघि भएको बताएको थियो

अफगान तालेवानको कतारस्थित राजनीतिक कार्यालयका प्रमुखले पदबाट राजीनामा दिएका छन्, जसलाई उक्त समूहका नेता मुल्लाह ओमारको निधन भएको सार्वजनिक भएपछि सो समूहमा देखिएको विभाजनको पछिल्लो संकेतका रुपमा लिइएको छ।

कतारस्थित कार्यालयका प्रमुख शैयद मोहम्मद तैयब आगाले मुल्लाह ओमारको मृत्युको जानकारी तालेवानले दुई वर्षसम्म लुकाएर राखेको घटना नै आफ्नो राजीनामाको प्रमुख कारण भएको बताएका छन्।

एउटा वक्तव्य जारी गर्दै सैयद तैयब आगाले आफूले पद त्याग गर्ने जनाउँदै मुल्लाह ओमारको उत्तराधिकारीका रुपमा मुल्लाह अख्तर मन्सुरलाई चयन गरिएको प्रकृयाको आलोचना गरेका छन्।

मुल्लाह ओमारको मृत्यूको समाचारको पुष्टि भएपछि गत बिहीबार मुल्लाह मन्सुरलाई तालेवानको नयाँ नेता चयन गरिएको थियो।

आलोचना

तर केहि तालेवान सदस्यले यसबारेमा आफूसंग कुनै सरसल्लाह नगरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।

पहिले मुल्लाह ओमारका नीजी सचिवका रुपमा काम गरिसकेका तैय्यब आगाले आफूले भविष्यमा हुनसक्ने मतभेदहरुबाट जोगीन पद त्यागेको पनि बताएका छन्।

तर उनले तालेवानको नयाँ नेता देश भन्दा बाहिर बसिरहेका मानिसहरुबाट देशभन्दा बाहिरै नियुक्त गरिनु एउटा ठूलो ऐतिहासिक भूल भएको बताएका छन्।

उनको टिप्पणीलाई पाकिस्तानी सरकारसंग सम्बद्धहरुको वृत्तबाट प्रभावित भएर मुल्लाह मन्सुरको नियुक्ती गरिएको भन्ने दावी तर्फको ईशाराका रुपमा लिइएको छ।

उनले सो उग्रवादी समूहको सबै मामिलाको संचालन अफगानिस्तान भित्रैबाट हुनुपर्नेमा जोड दिंदै, मुल्लाह ओमारको मृत्युको समाचारलाई दुई वर्षसम्म गोप्य राखिएको कामको आलोचना पनि गरेका छन्।

तालेवानले मुल्लाह ओमारको मृत्युको पुष्टि गरेपनि त्यो कहाँ, कहिले र कसरी भएको भन्ने बारेमा केहि खुलाएको छैन।