मध्यपहाडी लोकमार्गमा थुप्रै पुल बन्न बाँकी

  • 5 अगस्ट 2015
मध्यपहाडी लोकमार्गमा पर्ने बीपी राजमार्गको एक खण्ड
Image caption २०७६ सालसम्ममा मध्यपहाडी लोकमार्गका सम्पुर्ण काम पुरा हुने सडक विभागले जनाएको छ

जम्मा ८५ वटा पुल निर्माण गर्नुपर्ने मध्यपहाडी लोकमार्गमा ३१ वटाको मात्र निर्माण कार्य सम्पन्न भइसकेपनि कयौ पुल निर्माणाधीन छन् र २० वटा पुलको निर्माण कार्य पुरा हुन बाँकी छ।

सडक विभागले जनाए अनुसार ती पुलको निर्माण कार्य यो वर्ष शुरु हुने प्रकृया अगाडी वढिसकेको छ।

भेरी, कर्णाली ठुला नदिमा भने पुल निर्माणको कार्य तीब्र रुपमा भइरहेकोले परियोजना भने चाँडै सम्पन्न हुने अधिकारीहरुले बताएका छन्।

१७ सय ६९ किलोमिटर लामो पूर्वदेखी पश्चिमसम्म पहाडी जिल्लाहरुलाई जोड्ने गरी निर्माण थालिएको मध्यपहाडी लोकमार्गको ट्रयाक खोल्ने काम गत आर्थिक वर्षमा सकिएको थियो।

अधुरो

ती ट्रयाक मध्ये हाल केही ठाँउमा मात्र यातायात सञ्चालन हुने गरेको छ।

ठूला ठूला नदि पर्ने र तीनमा पुलहरुको निर्माण नहुंदा यातायात सञ्चालन गर्न नसकिएको यातायात व्यवसायीको गुनासो छ।

आवश्यक ८५ वटा पुलमध्ये गत आर्थिक वर्षको अन्तसम्ममा करिव एक चौथाइ पूलहरुको मात्र निर्माण कार्य सकिएको सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता उमेश झाले बताए।

उनले भने, “८५ पुलमध्येमा ३१ वटा पुल बनिसकेको छ, ३४ निर्माणाधीन र २० वटा पुलको ठेक्कापत्ता लाग्न बाँकी छ।”

निर्माण गर्न बाँकी रहेका पुलहरु बनाउने प्रकृया यसै वर्षदेखि थालिने बताइएको छ।

उपमहानिर्देशक झा परियोजनाको सम्पूर्ण खर्च सरकारले ब्यहोरेकोले आर्थिक कठिनाई नभएपनि पहाडी मार्गमा आवश्यक सामग्री पुर्याउन र बेला-बखत ठेकेदारहरुले समस्या दिंदा परियोजना ढिला हुन गएको बताउछन्।

समस्याहरु

उनी भन्छन्, “पहाडको बाटोमा सिमेन्ट, डन्डी, गिटी जस्ता आवश्यक सामग्री बोकेर लैजान गाहो छ अनि वालुवा पनि पाइँदैन।

"अर्कोतर्फ भित्री बाटोमा केही समूहरुले चन्दा आतंक फैलाउदा पनि बेला बेलामा समस्या आउने गर्यो । अहिले यी समस्याहरु कम भएका छन्।”

योजना अनुरुप काम भए २०७६ सालसम्ममा सम्पुर्ण काम पुरा हुने सडक विभागले जनाएको छ।

८ वर्ष अगाडी शुरु गरिएको यो परियोजनालाई सरकारले राष्ट्रिय गौरवको योजनाको रुपमा राखेको छ।

मध्यपहाडी लोकमार्ग पुरै खुलेपछि देशका पहाडी जिल्लाका बासिन्दाहरुको जनजीवन र आर्थिक स्तरउन्नतीमा ठुलो सघाउ पुग्ने विश्वास गरिएको छ।