बांगलादेशमा अर्का नास्तिक ब्लगरको हत्या

  • 7 अगस्ट 2015
तस्वीर कपीराइट EPA
Image caption गत मे महिनामा ब्लगर अनन्त विजोए दासलाई सिल्हेट शहरमा मुकुण्डोधारीहरुले काटेर मारेका थिए

बांगलादेशमा आफ्नो नास्तिक विचारधाराका कारण परिचित अर्का एकजना ब्लगरको हत्या भएको छ।

इन्टरनेटमा लेख लेखेर आफ्नो विचार सार्वजनिक गर्दै आएका निलोए नील यो वर्ष मारिने चौथो ब्लगर हुन्।

उनी अल्पसंख्यक हिन्दू समुदायका थिए।

उनको शव राजधानी ढाकास्थित उनको घरमा फेला परेको थियो।

आलोचना

प्रहरीका अनुसार दुईजना आक्रमणकारीहरुले डेरा भाडामा लिने बहानामा ढाकास्थित निलोए नीलको फ्ल्याटमा प्रवेश गरेका थिए।

त्यसपछि तिनीहरुले उनकी श्रीमती र बहिनीलाई कोठामा थुनेर आफ्ना अन्य तीनजना सहयोगीलाई त्यहाँ बोलाएका थिए र धारिलो हतियारले काटेर निलोए नीलको ज्यान लिएका थिए।

नील समेत यो वर्ष मारिएका चारजना ब्लगरहरु मध्ये तीन जना बांगलादेशका अल्पसंख्यक हिन्दू समुदायका मानिसहरु थिए।

मारिएका ती अन्य ब्लगर जस्तै निलोए नील पनि आफ्ना नास्तिक विचारधारा र लेखनका लागि प्रख्यात थिए र तिनीहरुले इस्लाम लगायत अन्य धर्मका रुढीवादी र कट्टरपन्थी चालचलन तथा व्यवहारको आलोचना गर्ने गर्दथे।

ढाकास्थित बीबीसीका अकबर होसेन भन्छन्, नीलोए नीलले आफूलाई शंकास्पद व्यक्तिहरुले पछ्याउने गरेको भनि प्रहरीमा उजुरी गरेका थिए।

बेवास्ता

तर उनले फेसबुकमा लेखे अनुसार आफूले प्रहरी कहां जीउज्यानको सुरक्षाका निम्ति औपचारिक उजुरी दर्ता गराएको भएता पनि प्रहरीले उनलाई सुरक्षा दिनुको साटो देश छाडेर जान सुझाव दिएको थियो।

गत मे महिनामा ब्लगर अनन्त विजोए दासलाई सिल्हेट शहरमा मुकुण्डोधारीहरुले काटेर मारेका थिए।

मार्च महिनामा अर्का ब्लगर वाशिकुर रहमानलाई ढाकामा नै काटिएको थियो भने फेब्रुअरीमा नास्तिक विचारधाराको प्रचार गर्दै समलिंगी व्यवहार जस्ता विवादास्पद विषयहरुमाथिको टिप्पणीका कारण चर्चामा आएका ब्लगर अविजीत रोए मारिएका थिए।

बांगलादेश संविधानत: औपचारिक रुपमा धर्म निरपेक्ष राष्ट्र हो, तर आलोचकहरु भन्छन् इस्लामवादी उग्रवादीहरुले ब्लगरहरुमाथि गरिरहेका हमलालाई सरकारले बेवास्ता गरिरहेको छ।

संवाददाताहरु भन्छन्, यो वर्ष भएका हत्याका घटनाको सम्बन्धमा दुईजना व्यक्तिलाई पक्राउ गरिएको छ भने कसैलाई पनि अभियोग भने लगाइएको छैन।