आगजनीमा मरेका प्यालेस्टिनीको अन्त्येष्ठी

  • 8 अगस्ट 2015
जाग्राम तस्वीर कपीराइट Reuters
Image caption सर्वसाधारण प्यालेस्टिनी परिवारमाथि गरिएको हमलाको धेरैले निन्दा गरेका छन्

वेस्ट ब्याङ्कमा सन्दिग्ध यहुदी उग्रवादीहरुद्वारा गरिएको आगजनीमा मरेका एकजना प्यालेस्टिनी पुरुषको अन्त्येष्ठी गरिएको छ।

गत साता दुमा गाउँस्थित उनको घरमा गरिएको आगजनीमा साद दावाब्शाका १८ महिनामात्रै पुगेका शिशु मारिएका थिए भने चारवर्षीय अर्का छोरा र उनकी श्रीमतीको अस्पतालमा अत्यन्त गम्भीर स्थितिमा उपचार भैरहेको छ।

हमासले सो हमलाको जवाफमा इजरेलसंग पुरै शक्ति लगाएर युद्ध गर्न आह्वान गरेको छ।

आगो

अधिनस्थ वेस्ट ब्याङ्कस्थित दुमा गाउँमा आफ्नै घरमा सुतीरहेका बेला आठ दिनअघि सन्दिग्ध यहुदी उग्रवादीहरुले साद दावाब्शाको घरमा आगो लगाइदिएका थिए।

बत्तीस वर्षीय सादको एउटा इजरेली अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भयो।

शनिबार उनको अन्त्येष्ठिमा सैयौं प्यालेस्टिनीहरु सहभागी भएका थिए। राती सुतीरहेका बेला आगजनी गरिनुकासाथै उनको सानो घरको भित्तामा हिब्रु भाषामा ‘बदला’ लेखिएको थियो। इजरेली सुरक्षाकर्मीहरुले सन्दिग्ध हमलाकारीहरुको खोजी भैरहेको जनाएका छन्। तर प्यालेस्टिनी अधिकारीहरुले सो हमलाकालागि इजरेल नै जिम्मेवार रहेको बताएका छन्।

आधिपत्य

झण्डै पचास वर्षअघि इजरेलले वेस्ट ब्याङ्क तथा पूर्वी जेरुसलममा आधिपत्य जमाए यता ती क्षेत्रमा एकसय भन्दा बढी वस्तीहरु बसालेको छ।

ती वस्तीहरुमा झण्डै पाँच लाख यहुदीहरु बसोबास गर्दछन्। प्यालेस्टिनीहरु ती वस्ती उनीहरुले चाहेको स्वतन्त्र राज्य स्थापना गर्नमा सबैभन्दा ठूलो अवरोध रहेको ठान्दछन्। प्यालेस्टिनी उग्रवादी संगठन हमासले पछिल्लो आगजनीको बदला लिन इजरेल विरुद्ध युद्ध गर्न आह्वान गरेको छ। गत वर्ष गाजाबाट इजरेली भूभागमा रकेट हमलाहरु गरिएपछि ती हमला रोक्न भन्दै इजरेलले झण्डै ५० दिनसम्म हवाइ कारवाही गरेको थियो।

कारवाही

ती कारवाहीमा एक्काइस सयभन्दा बढी प्यालेस्टिनीहरु मारिएका थिए।

मारिनेहरुमध्ये अधिकांश सर्वसाधारण प्यालेस्टिनीहरुभएको राष्ट्रसंघले जनाएको थियो।

हमासले गरेका हमलामा ६७ जना इजरेली सैनिकहरु मारिएका थिए भने एकजना थाइ नागरिक र ५ जना इजरेली सर्वसाधारणले पनि ज्यान गुमाएका थिए।

छिमेकी इजिप्टको मध्यस्थतामा युद्धविराम भएतापनि दुबै पक्षबीच तनाव कायमै छ।

विश्लेषकहरु भन्छन्, सानो घटनाले पनि दुबै पक्षबीच युद्ध शुरु हुनसक्ने भएकाले वेस्ट ब्याङ्कको दुमा गाउँमा गरिएको आगजनीको घटनालाई निकै चिन्ताका साथ हेरिएको हो।