मलेसियाबाट विदेशी कामदारको माग पूर्ववत

  • 10 अगस्ट 2015
तस्वीर कपीराइट EPA
Image caption व्यवसायीहरुको अपेक्षा विपरीत मलेसिया जाने नेपाली कामदारको संख्या नघटेको अधिकारीहरु बताउँछन्

श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीमा जानेहरुका लागि निःशुल्क भिसा र टिकटको व्यवस्था सन्तोषजनक रहेको जनाएको छ।

मन्त्रालयका अनुसार कतिपयले आशंका गरेभन्दा उल्टो उक्त प्रावधानपछि रोजगारीको निम्ति पूर्ववत कामदारको माग आइरहेको छ।

सात देशमा निःशुल्क भिसा र टिकटको प्रावधान लागू गरेपनि मलेसियामा प्रयोग हुन गाह्रो हुने कतिपयले अनुमान गरेका थिए।

मन्त्रालयका सचिव सुर्यप्रसाद श्रेष्ठले भने, “खाडीका बाँकी ६ मुलुकमा त पहिलेदेखि नै फ्री भिसामा कामदारहरु गइनैरहेका हुन्, अलिकति गाह्रो मलेसियामा हुन्छ कि भन्ने आशंका थियो।”

कामदार

तर उनका अनुसार मलेसियाका १७ वटा कम्पनीले झन्डै ५ सय नेपाली कामदार माग गरेका छन्।

व्यवसायीहरुको ठूलो विरोधका माझ श्रम मन्त्रालयले मलेसियासहित ७ खाडी मूलुकमा गत असार २१ गतेदेखि निःशुल्क भिसा र टिकटको प्रावधान लागू गरेको थियो।

श्रम तथा रोजगार मन्त्रालयले जनाए अनुसार निःशुल्क भिसा र टिकटको प्रावधान लागू भएको दुई सातामा कामदारहरुको माग आउने क्रममा कुनै कमी आएको छैन।

यो प्रक्रिया अब झन् बढ्ने उसको विश्वास छ।

यसले गति लिएसँगै कतिपय साना रोजगार कम्पनीहरु भने बन्द हुने आशंका गरिएको छ।

व्यवसायी खतरामा

मन्त्रालयले अब बिचौलियाहरुको चलखेल बन्द हुने र व्यवसायिक रोजगारी कम्पनीहरु मात्र अस्तित्वमा रहने जनाएको छ।

नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघले पनि प्रतिस्पर्धामा आउन नसक्ने कम्पनीहरु बन्द हुने बताएको छ।

महासंघका उपाध्यक्ष कुमुद खनालले भने, “जसले अन्तर्राष्ट्रिय कम्पनीहरुसंग सम्बन्ध बढाउन सक्दैन, भाषागत दक्षता राख्दैन, तिनीहरुलाई प्रतिस्पर्धामा उत्रिन गाह्रो हुनेछ, हेरौं लगभग डेढ सयदेखि दुई सयसम्म व्यवसायी कम्पनीहरु बन्द हुन सक्छन।”

हाल तीन महिनाका लागि लागू भएको यो प्रावधानलाई स्थायी बनाउनुअघि रोजगारी दिने मुलुकको अध्ययन भ्रमण गरिने मन्त्रालय र व्यवसायीबीच सहमति भएको थियो।

त्यस्ता भ्रमण यसै हप्ताबाट हुने पनि जनाइएको छ।