अफगान राष्ट्रपतिद्वारा पाकिस्तानको आलोचना

  • 10 अगस्ट 2015
Image caption गत शुक्रबार मात्रै काबुलमा तीनवटा घातक हमलाहरु गरिएका थिए

अफगानिस्तानका राष्ट्रपति अशरफ गनीले काबुलमा भएका श्रृंखलाबद्ध बमहमलाहरुका निम्ति पाकिस्तानको कडा निन्दा गरेका छन्।

अफगान राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वार नजीकैको एउटा जांच चौकीमा तालेवान आत्मघाती बम हमलाकारीले विस्फोट गराउंदा कम्तीमा पांच जनाको ज्यान गएको थियो।

सो घटनामा अन्य १६ जना घाइते भएका स्थानीय अधिकारीहरुले बताए।

एउटा पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपति गनीले पाकिस्तानमा रहेका आत्मघाती हमलाकारीहरुका तालिम शिविर र बम उत्पादन कारखानाहरु पहिले जतिकै सकृय रहेका बताए।

सन्देश

उनले अफगानिस्तानले शान्तिको कामना गरेको तर बदलामा काबुलले, उनकै शब्दमा, पाकिस्तानबाट युद्धको सन्देश पाइरहेको बताए।

स्थानीय समय अनुसार दिनको मध्यान्हतिर भएको सो बमहमला विदेशीहरुको समूहलाई लक्षित गरी गराइएको तालेवानका एकजना प्रवक्ताले दावी गरे।

तर त्यसबाट कोही विदेशी हताहत भए, नभएको थाहा भएको छैन।

तालेवानले आफ्नो नयां प्रमुखको नियुक्तिको घोषणा पछि भएका श्रृंखलाबद्ध हमलाहरुका क्रममा सोमबारको हमला पछिल्लो हो।

काबुलका उप प्रहरी प्रमुख, सैयद गुल आगा रुहानी, ले पत्रकारहरुलाई बताए अनुसार एकजना बम हमलाकारीले विमानस्थलतर्फ जाने बाटोमा रहेको पहिलो जांच चौकीमा आफू चढेको सवारी साधन लगेर जोति दिएका थिए।

त्यसपछि केही घण्टासम्म काबुलको विमानस्थल बन्द हुन पुगेको थियो।

सो हमलापछि हालैका दिनमा भएका हमलाहरुमा मारिनेको संख्या झण्डै पचास पुगेको छ।

हमला

त्यसबेला एकजना आत्मघाती बम हमलाकारीले शहरको प्रहरी प्रशिक्षण प्रतिष्ठान नजिकै हमला गर्दा झण्डै २० जनाको ज्यान गएको थियो।

त्यसको केही समय लगत्तै बन्दूकधारीहरुले विमानस्थल नजिकै अमेरिकी सैनिकहरु रहेका नेटोको सैनिक अखडामा हमलाका गरेका थिए।

जुन घटनामा ११ जनाको ज्यान गएको थियो।

शुक्रबार नै राजधानीको शाह शाहीद क्षेत्रमा रहेको सैनिक इलाका नजीकै विस्फोटक पदार्थले भरीभराउ एउटा ट्रक विस्फोट गराइंदा १५ जना मारिएका थिए।

प्रहरी प्रतिष्ठानमा भएको हमला बाहेक अन्य आक्रमणको जिम्मेवारी तालेवानले दावी गरेको छैन।

एकजना वरिष्ठ राष्ट्रसंघीय ‌अधिकारीले मुल्लाह ओमारको मृ्त्युको घोषणापछि तालेवान समूह भित्र उत्पन्न शक्ति संघर्षको परिणाम स्वरुप ती हमलाहरु भएको हुन सक्ने अनुमान गरेका छन्।