मेक्सिकोमा नागरिक समूहका अगुवाको हत्या

  • 10 अगस्ट 2015
तस्वीर कपीराइट AFP
Image caption आफ्नै ट्याक्सीभित्र गोली हानिएको अवस्थामा मिगेल अंखेल खिमेनेस ब्लांकोको शव भेटिएको थियो

मेक्सिकोको गेरैरोमा नागरिक समूहका एकजना अगुवा गोली हानी हत्या गरिएको अवस्थामा फेला परेका छन्।

हराइरहेका व्यक्तिहरुको खोजीका निम्ति उनीहरुका सयौं आफन्तलाई सघाएका मिगेल अंखेल खिमेनेस ब्लांको मृत फेला परेका हुन्।

ब्लांकोलाई शनिबार राति गोली हानिएको थियो।

ब्लांको आफ्नै ट्याक्सीभित्र रहेका बेला उनको टाउकोमा गोली प्रहार गरिएको बताइएको छ।

नेतृत्व

गेरैरो पहाडी क्षेत्रमा हराइरहेका व्यक्तिहरुको खोजी गर्ने समूहका उनी नेता थिए।

गत सेप्टेम्बर महिनामा इग्वाला शहर नजिकैबाट ४३ जना विद्यार्थीहरु बेपत्ता भएपछि खोजी कार्य शुरु गरिएको थियो।

उक्त काण्डले त्यहाँ बेपत्ता पारिएका अन्य घटनाहरुमाथि पनि प्रकाश पारेको थियो।

अफिम उत्पादन गर्ने एउटा महत्वपूर्ण क्षेत्रको रुपमा चिनिएको उक्त राज्यमा आपराधिक समूहहरुबीच हिंसा हुँदै आएको छ।

चिहान

गत डिसेम्बरमा बीबीसीसँगको अन्तरवार्तामा ब्लांकोले इग्वाला वरपरको क्षेत्रलाई चिहानको संज्ञा दिएका थिए।

बेपत्ता पारिएकाहरुको खोजीका निम्ति अधिकारीहरुले खासै केही नगरेको भन्दै आक्रोशित बनेका उनले गेरैरो पहाडी क्षेत्रमा निरन्तरजसो खोजी गरे।

शव खोज्न उत्खनन कार्य गर्नुका साथै उनले सुराक खोज्ने कार्य पनि गरिरहे।

ब्लांकोले दि अदर डिसअपिअर्ड नामक समूह गठनमा सहयोग गरे, जुन समूहका विशेषगरी महिलाहरुले हरेक आइतबार भेला भई उक्त पहाडी क्षेत्रमा हराइरहेका आफ्ना आफन्तका अवशेषहरु खोज्दथे।