सीमांकनको विरोध गर्दै हिंसात्मक प्रदर्शन

  • 10 अगस्ट 2015
Image caption जुम्लामा पनि सिमांकनको विरोधमा प्रदर्शन भएको छ

संघीयताबारे प्रमुख दलहरुबीच भएको पछिल्लो सहमतिको विरोधमा कतिपय असन्तुष्ट समूहहरुले गरेका प्रदर्शनका कारण सोमबार देशका विभिन्न भागको जनजीवन तनावग्रस्त रह्यो।

मध्यपश्चिमका केही जिल्लालाई सुदूरपश्चिमान्चलमा मिसाउने गरी प्रदेशको खाका ल्याइएको विरोधमा भएको प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले बल प्रयोग गर्दा कम्तीमा एक जनाको ज्यान गएको स्थानीय प्रशासनले बताएको छ।

प्रदेशको सीमांकन परिमार्जन हुनुपर्ने र मस्यौदामा नेपाललाई पुन: हिन्दु राष्ट्रमा फर्काउनुपर्ने माग सहित कतिपय जिल्लामा अfव्हान गरिएको बन्दका कारण जनजीवन प्रभावित भएको छ।

अहिलेको सीमांकन प्रारम्भिक रहेको भन्दै संयमित रहन नेताहरुले आव्हान गरेका छन्।

तनाव

मध्यपश्चिमका कतिपय जिल्लालाई सुदूरपश्चिमसँग जोडेर प्रदेश निर्माण गरिएको विरोधमा भएको प्रदर्शनले सोमबार हिंसात्मक रुप लिएको हो।

६ प्रदेश बनाउने समझदारी गरेका प्रमुख दलका स्थानीय नेता कार्यकर्ताको अगुवाइमा भएको प्रदर्शनमा अखण्ड मध्यपश्चिमान्चल कायम गरी त्यसको राजधानी सुर्खेतलाई बनाउनुपर्ने माग गरिएको थियो।

सोमबारकालागि बन्द आव्हान गरेका प्रदर्शनकारीहरुले सोमबार बिहानैदेखी क्षेत्रीय सदरमुकाम वीरेन्द्रनगरमा रहेका सरकारी कार्यालय तथा नेपाली काँग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्का र सांसद हृदयराम थानीको घर तोडफोड गर्ने प्रयास गरेको प्रहरीले जनाएको छ।

बन्दकर्ताहरुले प्रहरीको सवारी साधनमा आगजनी र सुरक्षाकर्मीमाथी ढुङ्गामुढा गरेपछि स्थितिलाई नियन्त्रणमा लिन हवाइ फायर गरेको र दिउँसो डेढ बजेबाट कर्फ्यु लगाइएको मध्यपश्चिम प्रहरी प्रमुख केशवध्वज अधिकारीले बीबीसीलाई बताए।

उनले भने, “व्यक्तिहरुको घर घरमा जाने आगजनी गर्ने, प्रहरीमाथि पनि साङ्घातिक आक्रमण गरिएपछि बल प्रयोग भएको हो। हाम्रो तर्फ १५/१६ जना घाइते भएका छन्, उतातिर पनि क्षति भएको सूचना पाएको छु, हाम्रा प्रहरी अधिकृत र जवानहरु ड्युटिमा नै छन्, अवस्था अझै सामान्य भैसकेको छैन।"

प्रदर्शनमा गम्भीर घाइते भएर उपचारका लागि नेपालगन्ज पठाइएका ३ मध्ये एकको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ।

कर्फ्यु घोषणा गरिएपछि सुरक्षा कायम राख्न सेनालाई पनि खटाइएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले जानकारी दिए।

अपुग

यसै गरी कर्णाली अञ्चललाई सुदूरपश्चिमाञ्चलमा गाभिएको विरोधमा जुम्ला बहुमुखी क्याम्पसमा परीक्षा चलिरहेको समयमा प्रदर्शनकारीले प्रश्नपत्र च्यातेर नाराबाजी थालेका थिए।

प्रदर्शनकारीले ४ वटा सवारी साधन तोडफोड गरेको र उनीहरुलाई नियन्त्रणमा लिने क्रममा ४ जना प्रहरी घाइते भएको अधिकारीहरुले बताए।

जुम्लामा थप प्रदर्शन हुनसक्ने आशंकामा केन्द्रबाट हेलिकप्टरमा थप सुरक्षाकर्मी पठाउन लागिएको गृहमन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालले बताए।

उनले भने, “गाउँ गाउँबाट मानिसलाई प्रदर्शनमा सहभागी हुन बोलाइएको खबर आएको छ, जुम्लामा सुरक्षाकर्मी अपुग छ। त्यही भएर भोलि बिहान केन्द्रबाट त्यहाँ थप सुरक्षाकर्मी पठाउदैँ छौँ।”

कैलाली र कन्चनपुर सहितका जिल्ला समेटेर थरुहट प्रदेश बनाइनुपर्ने माग गर्दै आव्हान गरिएको बन्दले ती जिल्लामा जनजीवन प्रभावित भएको छ।

यस बाहेक नेपाललाई पुन: हिन्दु राष्ट्र बनाउनुपर्ने माग सहित वीरगंजमा र तराइमा प्रस्ताव गरिएको प्रदेशको विरुद्धमा धनुषामा विभिन्न समूहले बन्द र विरोध प्रदर्शन गरेको प्रहरीले जनाएको छ।