नाइजेरियामा भ्रष्टाचार रोक्ने उपाय सुझाउन समिति

  • 11 अगस्ट 2015
तस्वीर कपीराइट mark knoller
Image caption गत महिना ओबामासँगको भेटमा राष्ट्रपति बुहारीले १५० अर्व डलर सरकारी रकम पत्ता लगाउन र फिर्ता ल्याउन सहयोगको अपिल गरेका थिए

नाइजेरियाका राष्ट्रपतिले भ्रष्टाचार विरुद्ध लड्ने राम्रो उपाय तथा कानुनी पुनर्संरचनाबारे आफूलाई सुझाव दिन एउटा समिति गठन गरेका छन्।

गत मे महिनामा कार्यभार सम्हालेका राष्ट्रपति मुहम्मदु बुहारीले भ्रष्टाचार विरुद्धको नाराका साथ चुनाव जितेका थिए।

भ्रष्टाचार विरुद्धको सात सदस्यीय समितिमा विज्ञ र नागरिक समाजका अभियानकर्ताहरु छन्।

‘राज्यकोषमा चोरी’

समस्याको जटिलता हेर्दा उनीहरुलाई निकै चुनौतीपूर्ण जिम्मेवारी दिइएको छ।

गत महिना अमेरिकी राष्ट्रपति बराक ओबामासँगको भेटमा राष्ट्रपति बुहारीले १५० अर्व डलर सरकारी रकम पत्ता लगाउन र फिर्ता ल्याउन सहयोगको अपिल गरेका थिए।

उनका भनाईमा वितेको दशकमा राज्यकोषबाट चोरिएको उक्त रकम विदेशी बैङ्कहरुमा लुकाइएको छ।

राष्ट्रपति बुहारीले अघिल्ला सरकारका मातहतमा परियोजनाहरुका निम्ति छुट्टयाइका ठूला धनराशीका ऋणहरु अन्यत्रै लगिएको भन्दै सोमबार कडा आलोचना गरेका थिए।

इतिहास रचियता

बीबीसीका एकजना सम्वाददाता भन्छन्, “भ्रष्टाचार नाइजेरियाको राज्यकोष ठूलो मात्रामा चुहिने प्वाल हो, त्यसैले राष्ट्रपति मुहम्मदुले त्यसलाई कसरी परास्त गर्ने भन्ने सल्लाह खोज्नु कुनै आश्चर्यको विषय होइन्।”

चार महिनाअघि पूर्वसैनिक जनरल बुहारीले नाइजेरियाको राष्ट्रपतिमा विपक्षी उम्मेदवारको रुपमा चुनाव जित्ने इतिहास बनाएका थिए।

उनले बहालवाला राष्ट्रपति गुडलक जोनाथनलाई परास्त गरेका थिए।

त्यसअघिका बहाली राष्ट्रपति कहिल्यै पनि चुनावमा पराजित भएका थिएनन्।

बुहारीको भ्रष्टाचार विरोधी छवि चुनाव जित्ने मुख्य आधार बनेको थियो।