एमएच१७को अवशेषमा ‘क्षेप्यास्त्रको टुक्रा’

  • 11 अगस्ट 2015
तस्वीर कपीराइट Reuters
Image caption अस्त्र विज्ञहरु र फोरेन्सिक विशेषज्ञहरुले ती संदिग्ध टुक्राको थप अनुसन्धान गर्ने बताइएको छ

युक्रेनको आकाशमाथि उडानमा रहंदा खसालिएको, मलेशिया एयरलाइन्सको एमएच सेभेन्टीन विमान दुर्घटनास्थलको अनुसन्धान गरेका नेदरल्याण्ड्सका छानविनकर्ताहरुले त्यहां संदीग्ध क्षेप्यास्त्र प्रणालीको अवशेष फेला पारेका छन्।

त्यस्तो क्षेप्यास्त्र जमीनबाट हावामा प्रहार गर्न सकिने रुस निर्मित बुक क्षेप्यास्त्र प्रणाली हुन सक्ने बताइएको छ।

डच अनुसन्धानकर्ताहरुले, युक्रेनमा गत वर्ष जुलाई महिनामा खसेको मलेशिया एयरलाइन्सको भग्नावशेषहरुमा क्षेप्यास्त्र प्रणालीका टुक्राहरु पनि पाइएको बताएका छन्।

दोष

तर सो क्षेप्यास्त्र प्रणालीका कारण नै उक्त यात्रुबाहक विमान खसालिएको थियो भनेर यकिन साथ भन्न सकिने अवस्था अझै भइ नसकेकोमा बक्तव्यमा जोड दिइएको छ।

युक्रेनमा रुस समर्थित विद्रोहीहरुको नियन्त्रणमा रहेको भूभागमा उक्त मलेशिया एयरलाइन्सको विमान खस्दा २९८ जनाको ज्यान गएको थियो।

२८३ जना यात्रुहरु मध्ये ८० जना बालबालिका थिए भने १५ जना चालकदलका सदस्यहरु थिए।

मारिनेमा दुई तिहाई जति नेदरल्याण्ड्सका नागरिकहरु थिए।

बांकी मलेशियाली र अष्ट्रलियालीहरु रहेका थिए।

अनुसन्धान

युक्रेन र थुप्रै पश्चिमा देशहरुले उक्त यात्रुबाहक विमानलाई क्षेप्यास्त्र प्रहार गरी खसालिएको भनि रुस समर्थक विद्रोहीहरुलाई दोष दिएका छन्।

त्यसका लागि रुसले तिनीहरुलाई प्रदान गरेको बुक क्षेप्यास्त्र प्रणालीको प्रयोग भएको आरोप लगाइएको छ।

रुस र विद्रोहीहरुले त्यस्तो आरोप अस्वीकार गर्दै त्यसका लागि युक्रेनी सेना नै जिम्मेवार रहेको भन्दै आएको छ।

उक्त दुर्घटनाको छानविन गरिरहेको संयुक्त अनुसन्धान टोलीले नेदरल्याण्ड्सको सुरक्षा बोर्डसंग मिलेर जारी गरेको वक्तव्यमा जनाए अनुसार, क्षेप्यास्त्र प्रणालीहरुका टुक्रा, पूर्वी युक्रेनमा भग्नावशेष संकलनका निम्ति यसअघि गएको अभियान टोलीले फेला पारेर ल्याएको थियो।

अब अस्त्र विज्ञहरु र फोरेन्सिक विशेषज्ञहरुले ती संदिग्ध टुक्राको थप अनुसन्धान गर्ने बताइएको छ।

उक्त संयुक्त अनुसन्धान टोलीमा नेदरल्याण्ड्स, युक्रेन, बेल्जीयम, मलेशिया र अष्ट्रेलियाका प्रतिनिधिहरुको सहभागीता रहेको छ।

मलेशिया एयरलाइन्सको उक्त एमएच सेभेन्टीन विमान, एम्स्टरड्यामबाट कुआलालम्पुर तर्फको उडानमा रहेको बेला गत वर्षको जुलाई १७ तारिखमा पूर्वी युक्रेनको डोनेत्स्क क्षेत्रमा खसालिएको थियो।