हालकै प्रदेशभित्र ‘स्वायत्त क्षेत्र’ दिन सुझाव

  • 12 अगस्ट 2015
जुम्लामा प्रदर्शन
Image caption प्रदेशहरुको प्रस्तावित सीमाङ्कनप्रति समुदायका असन्तुष्टीहरु सडकमा छताछुल्ल भइरहेका छन्

प्रदेश सीमाङकनले विभिन्न क्षेत्र र समुदायको पहिचानलाई उपेक्षा गरेको भन्दै पश्चिम नेपालमा विरोध भइरहँदा त्यस क्षेत्रबाटै प्रतिनिधित्व गर्ने केही सभासद्हरुले हालकै प्रदेशभित्र स्वायत्त क्षेत्र बनाएर अहिले देखिएका असन्तुष्टिहरुलाई सम्बोधन गर्न सकिने प्रस्ताव अगाडि सारेका छन्।

संविधानसभाको शीर्ष नेता सहभागी विशेष समितिलाई लिखितरुपमै बुझाएको मागपत्रमा स्वायत्त क्षेत्रको व्यवस्था गर्न सकिए हाल सीमाङकनमा देखिएको विवाद सम्बोधन हुने उनीहरुको भनाई छ।

प्रदेशको सीमाङकनको विरोध सबैभन्दा बढी मध्यपश्चिम र सुदुरपश्चिम क्षेत्रमा भइरहेको छ।

कर्णाली अञ्चलमा सवायत्त कर्णाली प्रदेशको माग भइरहेको छ भने सुर्खेत, दैलेख र जाजरकोटमा अखण्ड मध्यपश्चिम चाहियो भन्दै आन्दोलन चलिरहेको छ।

प्रस्ताव

रुकुम जिल्लामा अखण्ड रुकुमको माग भएको छ भने सल्यानमा अखण्ड राप्तीको।

बर्दिया, कैलाली र कन्चनपुरमा थारुहट प्रदेशको माग गर्दै बन्द घोषणा गरिँदै आएको छ।

तिनै क्षेत्रबाट प्रतिनिधित्व गर्ने सभासदहरुले भने हालकै प्रदेशमा जनसंख्याका आधारमा स्वायत्त क्षेत्र बनाएर पछिल्लो विवादलाई समाधान गर्न सकिने प्रस्ताव शीर्ष नेतासमक्ष गरेका छन्।

जिल्ला टुक्राइएकोमा असन्तुष्टि व्यक्त गर्दै आएका रुकुमका सभासद् गणेशमान पुनले भने "परिमार्जित मस्यौदमा विशेष संरचनासहितको स्वायत्त क्षेत्र संरक्षित क्षेत्रहरुको व्यवस्था भइ सकेको अवस्थामा यो एउटा उत्त विकल्प हुन सक्छ र यसले न्याय नै गर्दछ।"

सम्बोधन

एउटा पक्षले पहाडी जिल्लालाई तराईसम्म जोडनुपर्ने माग गर्ने र अर्को पक्षले तराईलाई पहाडसँग जोडनै नहने जस्ता मागहरु गरिरहेका बेला आफूहरुले अघि सारेको प्रस्तावले सबैका माग सम्बोधन गर्ने भनाई छ बर्दियाका सभासद् शन्तकुमार थारुको।

उनले भने, “जातिहरुको माग र अधिकार पूरै त नपाइएला तर यो प्रस्तावले धेरैभन्दा धेरै अधिकारहरु प्राप्त हुन सक्छ भन्ने हाम्रो निष्कर्ष हो।”

संविधानकै मस्यौदामा स्वायत्त क्षेत्र बनाउन सकिने व्यवस्था भएकाले देशका अन्य भागहरुमा पनि विभिन्न भूगोल र जातीय जनसंख्याका आधारमा स्वायत्त क्षेत्र बनाउनु उचित हुने ती सभासदहरुको भनाई छ।

तर त्यस्ता क्षेत्रलाई कस्ता अधिकार दिने भन्नेमा दलहरु भित्रै मतभेद रहँदै आएको छ।