मस्यौदा समितिले काम थाल्दै

  • 13 अगस्ट 2015
Image caption केही दिनअघि मस्यौदा समितिले प्रारम्भिक मस्यौदा संविधानसभामा बुझाएको थियो

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले प्रारम्भिक मस्यौदाबारे पेश गरेको प्रतिवेदनमा आवश्यक परिमार्जन गर्न ५ दिनको समय पाएको संविधानसभाको मस्यौदा समितिले भावी संविधानको परिमार्जित विधेयक बनाउने काम बिहिबारबाट थाल्दैछ।

समितिले भदौ १ गतेभित्र संविधान सभामा परिमार्जित विधेयक प्रस्तुत गर्ने गरी काम थाल्ने बताएको छ।

मस्यौदा समितिको बैठकले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले दिएको प्रारम्भिक मस्यौदामाथिको प्रतिवेदन तथा सभाको निर्देशनलाई पूर्ण बैठकमा राखेर त्यसलाई मस्यौदामा कसरी समेट्ने भन्ने विषयमा बिहिबारनै छलफल गरी टुंगो लगाउने बताइएको छ।

शुरुमा ८ प्रदेशको खाका कोरिएको प्रारम्भिक मस्यौदामा अब सीमाकंनसहितको ६ प्रदेश राख्नु पर्नेछ।

परिमार्जन

मस्यौदा समितिले उपयुक्त ठानेका विषयहरु कार्यदलमा पठाएर मस्यौदा मिलाउने र त्यसपछि फेरि पूर्ण बैठकमा लैजाने बताइएको छ।

उक्त प्रक्रियाबारे मस्यौदा समितिका सचिव रवि शर्मा अर्यालले भने, “मस्यौदा समितिको पूर्ण बैठकमा एकसरो छलफल भएपछि कार्यदलमा पठाइनेछ, अनि कार्यदलले धमाधम काम शुरु गर्छ, कार्यदलले ३ दिनभित्र काम पूरा गर्ने सोच राखेको छ, कार्यदलले पूरा गरेपछि फेरि पूर्ण बैठकमा बुँदागत रुपमा छलफल गरेपछिको परिमार्जित विधेयक हामीले भदौ १ मा संविधानसभामा पेश गर्ने योजना बनाएका छौं।”

संविधानसभामा परिमार्जित विधेयक प्रस्तुत भएपछि त्यसमाथि दफावार छलफल हुने कार्यक्रम छ।

क्रियाशील

तर संविधान निर्माणका कतिपय महत्वपूर्ण विषयहरुको अझै टुंगो लाग्न बाँकी रहेको बेला मस्यौदा समितिलाई सघाउन संवाद समितिले शीर्ष नेताहरु सामेल गराई यसअघि गठन गरेको विशेष समिति निरन्तर क्रियाशील रहने मस्यौदा समितिले बताएको छ।

समितिका एक सदस्य गिरिराजमणि पोखरेलले भने, “संवाद समितिका सभापति बाबुराम भट्टराईकै नेतृत्वमा नटुंगिएको विषयमा कुरा मिलाउन विशेष समिति बनाइएको छ, त्यो समिति विधेयक निर्माणमा अन्तिम समयसम्म त्यो कायम रहन्छ, हाम्रो समितिका सभापतिले त्यो विशेष समितिसँग संयोजन गरेर यी समस्याको संयोजन गर्नुपर्नेछ।”

मस्यौदा समितिले परिमार्जित विधेयकलाई संविधानसभामा पेश गरिसकेपछि त्यसका धारामा संशोधन विधेयक राख्न सभासदहरुले पाउनेछन्।