म्यागी चाउचाउमाथिको प्रतिबन्ध फुकुवा

  • 13 अगस्ट 2015
तस्वीर कपीराइट AFP

भारतको एउटा अदालतले एउटा बहुराष्ट्रिय कम्पनी नेस्लेको चल्तीको उत्पादन म्यागी चाउचाउको विक्रिमाथि लगायएको सरकारी प्रतिवन्ध हटाएको छ।

तर म्यागी चाउचाउको विक्रि पुन: शुरु गर्नुअघि त्यसका लागि नयाँ परिक्षण हुनुपर्ने आदेश अदालतले दिएको छ।

भारतको खाद्य सुरक्षा नियन्त्रक निकायले गत जुनमा म्यागीको परिक्षणमा स्वीकृत भन्दा बढी स्तरमा लेड अर्थात् शिशाको मात्रा पाइएको भन्दै सो चाउचाउको विक्रिमाथि प्रतिवन्ध लगाएको थियो।

उक्त प्रतिबन्धको निर्णयविरुद्ध नेस्लेले अदालतमा मुद्दा दर्ता गरेको थियो।

शर्त

विहीबार बम्बैको हाइकोर्टले केही शर्त राख्दै म्यागी चाउचाउमाथि लगाइएको प्रतिबन्ध हटाएको हो।

हाइकोर्टले आफ्नो आदेशमा भनेको छ- नेस्ले इण्डियाले तयार पार्ने म्यागी चाउचाउको हरेक ब्याचको नमुनाको जाँच हुनुपर्छ।

अदालतले आदेशमा भनेको छ, “म्यागी चाउचाउको हरेक ब्याचबाट पाँचवटा नमुना परिक्षणका लागि तीनवटा प्रयोगशालामा पठाउनु र यदी स्वीकृतभन्दा कम लेड पाइए चाउचाउ उत्पदान र विक्रि पुन: गर्न पाउनेछ।”

नेस्लेविरुद्धको उजुरीमा यसले आफ्नो उपभोक्तालाई भ्रामक खालको विज्ञापनको माध्यमबाट उपभोक्ताको शरिरमा हानी पुर्याएको उल्लेख थियो।

अदालतले चाउचाउमाथि सरकारले लगाएको प्रतिवन्ध मनोमानी ढंगले लगाइएको र यो प्राकृतिक न्यायको सिद्धान्त विरुद्ध भएको जनाएको छ।

रद्द

एएफपी समाचार संस्थासँग न्यायाधीश विद्यासागर कनाडेले भनेका छन्, “हामीले प्रमाणहरुको वृहद् रुपमा छानबिन गरेका छौं। निवेदक नेस्लेले परिक्षणबाट खाद्य सुरक्षा प्राधिकरण सन्तुष्ट नहुँदासम्म म्यागी उत्पादन गर्न र विक्रि नगर्न सहमति जनाएकोले अहिले खाद्य सुरक्षा प्राधिकरणले जे माग गरेको छ त्यसको सुनुवाई गर्नुपर्ने जरुरी देखिएन।”

तस्वीर कपीराइट Reuters

अदालतको यो आदेशको असरले नेस्ले इण्डियाको शेयरमा पनि पाँच प्रतिशतले बढेको छ।

एफएसएसएआईले जुन ५ तारिखमा म्यागी चाउचाउलाई देशैभरि उत्पादन, विक्रि र वितरणमा प्रतिवन्ध लगाउने आदेश दिएको थियो।

स्वीस फूड मल्टिनेशनलले सधैँ आफ्नो उत्पादन सुरक्षित भएको बताउँदै आएको छ।

फूड सेफ्टी एण्ड स्ट्याण्डर्ड अथोरिटि अफ इण्डिया (एफएसएसएआई) ले यसअघि म्यागीको परिक्षणमा लेडको मात्रा असुरक्षित र खतरनाक भएको बताएको थियो।

परिक्षण

नेस्लेले भने अमेरिका, बेलायत, सिंगापुर जस्ता अन्य मुलुकमा गरिएको परिक्षणमा म्यागी चाउचाउ सुरक्षित रहेको बताएको छ।

भारतको गोवा र मैसुरको दुइवटा प्रयोगशालाले पनि हालै म्यागीलाई सुरक्षित भनेका थिउ। तर खाद्य सुरक्षा प्राधिकरणले ति परिक्षणहरुमा केही कमजोरीहरु रहेको भन्दै त्यसका निष्कर्षलाई रद्द गरेको थियो।

नेस्लेले बुधबार एएटा विज्ञप्तिमा भनेको थियो, भारत र अन्य मुलुकमा मान्यता प्राप्त प्रयोगशालाले २७ सयवटा नमुनामा गरेको परिक्षणमध्य सबैमा स्वीकृत

स्तर भन्दा कमै लेडको मात्रा पाइएको छ।

तर भारतमा ८० प्रतिशतभन्दा बढी चाउचाउको बजार लिएको कम्पनीले यसअघि नै आफ्नो ४० करोड टन उत्पादनलाई नष्ट गरिसकेको छ।

म्यागी सन् १९८३ मा भारत भित्रिएको थियो र यो देशका कुनाकुनामा पाइने गर्छ।