तिआन्जिन बन्दरगाह शहरमा 'ठूलो' विष्फोट

  • 13 अगस्ट 2015
तस्वीर कपीराइट social media
Image caption धेरै किलोमिटर टाढासम्म विष्फोटका कारण कम्पन भएको बताइएको छ

चीनको उत्तरी तिआन्जिन बन्दरगाह शहरमा एउटा गोदाममा भएको ठूलो विष्फोटमा कम्तीमा १७ जनाको ज्यान गएको छ।

विष्फोटमा परेर चार सय जनाभन्दा बढी घाइते भएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार बन्दरगाह क्षेत्रमा खतरनाक र रासायनिक सामानहरु राखिएको गोदाममा विष्फोट भएको थियो।

फोटो र सामाजिक सञ्जालहरुमा राखिएका भिडिओमा आगो बलिरहेको देखिन्छ।

विष्फोट

विष्फोटका कारण वरपरका भवनहरु ध्वस्त भएका छन्।

समाचारहरुमा जनाइएअनुसार अस्पतालहरु हताहत हुने मानिसले भरिएका छन्।

बीबीसी चिनियाँ सेवाका सम्पादक रेमण्ड ली भन्छन्- घटना हेर्दा यो एउटा औद्योगिक दुर्घटना हो।

चिनियाँ सरकारी टेलिभिजन सीसीटिभीका अनुसार विष्फोटक पदार्थले भरिएको एउटा मालबाहक साधनमा विष्फोट भएको थियो।

यद्यपि त्यसको पुष्टि हुन बाँकी छ।

पहिलो विष्फोट राति साढे ११ बजे भएको थियो र त्यसको केही समयपछि दोस्रो विष्फोट भएको थियो।

कम्पन

धेरै किलोमिटर टाढासम्म विष्फोटका कारण कम्पन भएको थियो।

त्यसपछि नजिकै अरु विष्फोट पनि भएका थिए।

सीसीटिभीका अनुसार चार सयभन्दा बढी मानिसहरु घाइते भएका छन्।

उनीहरुमध्ये ११ जनाको अवस्था गम्भीर रहेको तिआन्जिन नगर सरकारले जनाएको छ।

सीसीटिभीका अनुसार विष्फोट भएको कयौं घण्टापछि घरहरु जलिरहेका छन् र आगो नियन्त्रणमा लिने प्रयासमा रहेका सय वटा दमकलहरु देखिएका छन्।