ग्रीक संसदः तेस्रो ऋण सम्झौतामाथि बहस

  • 14 अगस्ट 2015
Image caption प्रधानमन्त्री एलेक्सिस सीप्रासले आफ्नै पार्टीका सांसदहरुबाट विद्रोहको सामना गर्नुपरेको छ

अन्तर्राष्ट्रिय ऋण सम्झौताबारे मतदान हुनुअघि ग्रीक संसदमा सांसदहरुबीच चर्काचर्की भएको छ।

कर वृद्धि र निजामति कर्मचारीहरुको सेवा सुविधामा कटौती लगायतका विषयमा ऋणदाताहरुसँग गरिएको सम्झौतासम्बन्धी विधेयकमाथि मतदान हुन लागेको हो।

सत्तारुढ सिरिजा पार्टी फुटतर्फ उन्मुख भएको संकेतहरु देखिएका छन्।

यद्यपि ऋणदाताहरुसँग भएको सम्झौतासम्बन्धी विधेयक संसदबाट पारित हुने अपेक्षा गरिएको छ।

सुरक्षा

प्रधानमन्त्री एलेक्सिस सीप्रासले विजयी हुनेमा ढुक्क रहेको भन्दै ऋणदाताहरुसँगको सम्झौताले आर्थिक सुरक्षा दिने बताए।

ग्रीसले ऋण पाउनेसम्बन्धी सम्झौताको पक्षमा सांसदहरुले मतदान गर्नुपर्ने छ।

उनीहरुले त्यसको पक्षमा मतदान गरेपछि युरो मुद्रा प्रचलनमा रहेको युरोजोनका मन्त्रीहरुले ग्रीसलाई ८५ अर्ब युरो उपलब्ध गराउने सम्झौतालाई अनुमोदन गर्नेछन्।

युरोजोनका मन्त्रीहरुको बैठक शुक्रबार बस्नेछ।

दोस्रो म्याद अनुसार ग्रीसले अगस्त २० तारिखसम्ममा युरोपेली केन्द्रीय बैंकलाई ३ अर्ब २० करोड युरो तिर्नुपर्नेछ।

कटौती

यसअघि ऋण सम्झौतामाथि संसदमा भएका दुईवटा मतदानमा प्रधानमन्त्री सीप्रासले आफ्नै पार्टीका सांसदहरुबाट विद्रोहको सामना गर्नुपरेको थियो।

सत्तारुढ सिरिजा पार्टीका एक सय ४९ जनामध्ये ३० जनाभन्दा बढी सांसदहरु कर वृद्धि र निजामति कर्मचारीहरुको सेवा सुविधामा कटौती गर्न नहुने पक्षमा उभिएका थिए।

बिहिबार संसदीय समितिमा ऋण सम्झौतासम्बन्धी विधेयकको व्यापक आलोचना भएको थियो।

उक्त विधेयकमाथि नौ घण्टा बहस चलेको थियो।