सहमति प्रयासमा विशेष समितिको बैठक बस्दै

  • 14 अगस्ट 2015
Image caption चार दलले गरेको सीमांकनलाई लिएर देशका विभिन्न भागमा विरोध भइरहेको छ

संविधानको मस्यौदामा सहमति जुट्न बाँकी केही विषयहरुको टुंगो लगाउन संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले शीर्ष नेताहरु सामेल गरी बनाएको विशेष समितिको बैठक शुक्रबार बस्दैछ।

प्रदेशको सीमांकनबारे कतिपय ठाउँमा देखिएको ‘जायज असन्तुष्टि’लाई सम्बोधन गर्न सकिने शीर्ष नेताहरुले बिहिबार संसदमा संकेत दिए लगत्तै बस्न लागेको बैठकमा मिल्न बाँकी विषयहरुमा समेत छलफल गरी निचोड निकालिने बताइएको छ।

धर्म निरपेक्षता, राष्ट्रिय पार्टी हुनका लागि आवश्यक न्यूनतम मत सीमा अर्थात थ्रेसहोल्ड र संवैधानिक निकायमा पुनर्नियुक्ति लगायतका विषयमा प्रमुख राजनीतिक दलहरुबीच अझै सहमति हुन नसकेका विषयहरु हुन्।

शुक्रबार बस्ने विशेष समितिको बैठकले यी लगायत खासगरी सीमांकनका विषयमा देशका विभिन्न स्थानहरुमा भईरहेको विरोधलाई संबोधन गर्न प्रयास गर्ने अपेक्षा गरिएको छ।

समाधान

नेकपा एमालेका प्रमुख सचेतक अग्नि खरेलले भने, “केही विषयहरुमा हाम्रो निर्णय नमिलेका पनि देखिएका छन्, खासगरी अहिले मध्यपश्चिम र पश्चिम नेपालमा धेरथोर समस्या देखिएका छन्, ती विषयहरुलाई समाधान गरेर हामी अगाडि बढ्नेछौँ।”

संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति अन्तर्गत प्रमुख दलका शीर्ष नेताहरु रहेको सो विशेष समितिले मस्यौदा समितिसँग मिलेर काम गरिरहेको छ।

परिमार्जित विधेयकलाई अन्तिम रुप दिन काम गरिरहेको मस्यौदा समितिको काम विशेष समितिले निर्णय नदिएसम्म पूरा हुन नसक्ने हुनाले शुक्रबारको बैठक महत्वपूर्ण देखिएको छ।

एकीकृत नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले मतभेदका कतिपय विषयमा सहमतिको प्रयास गरिने बताए।

पुनर्विचार

उनले भने, “हामीले प्रष्टसँग पुनर्नियुक्ति हुनुपर्छ भनेका छौँ, संवैधानिक निकायका पदाधिकारीहरु र सर्वोच्च अदालतका न्यायाधिसहरुको पुनर्नियुक्ति हुनुपर्छ भनेका छौँ, त्यस्तै थ्रेसहोल्डका बारेमा न्यूनतम थ्रेसहोल्ड राखेर जाऔँ भनेका छौँ र नागरिकताको विषय पनि टुंगिएको छैन, यसबारे पनि पुनर्विचार गर्नैपर्छ।”

खरेलले पनि पुनर्नियुक्तिको विषयमा नेपाली कांग्रेस मात्र असहमत भएकोले उनीहरुलाई सम्झाएर टुंङग्याउने बताए।

एमाले न्यूनतम ५ प्रतिशत थ्रेसहोल्ड राख्ने पक्षमा देखिएको छ।

परिमार्जित विधेयक संविधानसभामा पेश गर्न मस्यौदा समितिले ५ दिनको समय पाएको छ।