सरकार विरुद्ध दशौं हजार मानिस सडकमा

  • 17 अगस्ट 2015
तस्वीर कपीराइट BBC Brasil
Image caption राजनीतिक र आर्थिक संकटहरुको समाधान गर्न राष्ट्रपति पूर्ण विफल भएको प्रदर्शनकारीको आरोप छ

ब्राजिलका शहरहरुमा दशौं हजार मानिसहरुले सरकार विरोधी प्रदर्शनहरुमा भाग लिएका छन्।

प्रदर्शनकारीहरुले राष्ट्रपतिले दिल्मा रुसेफले देशमा आर्थिक संकट निम्त्याएको र उनी सरकारी तेल कम्पनी पेट्रोबासमा रहँदा रकम हिनामिना गरेको आरोप लगाइरहेका छन्।

तेल कम्पनी पेट्रोबास भ्रष्टाचारमा लिप्त भएको बेला उनी त्यसको अध्यक्ष थिइन्।

तर एक न्यायिक छानबिनले आर्थिक अनियमिततामा रुसेफको प्रत्यक्ष संलग्नता नरहेको देखाएको थियो।

आरोप

अनुसन्धानकर्ताहरु भन्छन्, "कम्पनीहरुले सत्तारुढ वर्कर्स पार्टीका नेताहरुलाई मोटो रकम घुस खुवाएर पेट्रोबासका ठेक्काहरु हात पारेका थिए।"

देशमा मेलमिलापपूर्ण वातावरण बनेको बेला पछिल्ला प्रदर्शनहरु भएका हुन्।

तस्वीर कपीराइट Getty
Image caption न्यायिक छानबिनले आर्थिक अनियमिततामा रुसेफको प्रत्यक्ष संलग्नता नरहेको देखाएको थियो

फ्रि ब्राजिल मुभमेन्टका एक अगुवा फाबियो अस्टरम्यानले भने, "उनले हाम्रो वित्तिय कानुन उल्लंघन गर्दै अपराधहरु गरेकी छन्, आठ वर्षसम्म पेट्रोबासको अध्यक्ष रहेर गम्भीर लापरवाहीहरु गरेकी छन् र, चार वर्षभन्दा बढी समयदेखि ब्राजिलको राष्ट्रपतिको रुपमा राजनीतिक र आर्थिक संकटहरुको समाधान गर्न उनी पूर्ण असक्षम साबित भएकी छन्।"

ब्राजिलका विभिन्न शहरका सडकहरु तताएका प्रदर्शनकारीहरुको राष्ट्रपति रुसेफबिरुद्ध महाअभियोग लगाउनु पर्ने माग छ।

बीबीसी सम्बाददाता वेरा डेभिस् भन्छन्, "प्रजातान्त्रिक पद्धतिबाट चुनिएकी राष्ट्रपतिलाई महाअभियोग लगाएर हटाउँदाको जोखिमबारे मानिसहरुलाई राम्ररी थाहा छ। तर सावो पावोलोका सडकमा देखिएका अधिकांश गोरा र मध्यम वर्गीय प्रदर्शनकारीहरुले त्यो जोखिमको कुरा गरेनन्। उनीहरुले पेट्रोबासमा भएका भ्रष्टाचारको खुलेर आलोचना गरे।"

उनका अनुसार ब्राजिलको अर्थतन्त्र खस्किने क्रम जारी रहेमा त्यसले सरकार समक्ष चुनौतिहरु थप्ने निश्चित छ।