आन्दोलनमा बालबालिकाको प्रयोगप्रति चिन्ता

  • 16 अगस्ट 2015
Image caption विभिन्न दलहरुले स्कूले विद्यार्थीहरुलाई सभा जुलुसमा सहभागी गराउँदै आएका छन्

प्रमुख चार दलहरुले सीमांकनसहितको ६ प्रदेशको खाका ल्याए लगत्तै देशका विभिन्न भागहरुमा देखिएको बन्द हडतालका क्रममा बालबालिकाहरुको प्रयोग गरिएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले चिन्ता व्यक्त गरेको छ।

कलिला बालबालिका सडकमा उतार्न थालेकोलाई अधिकारकर्मीहरुले गम्भीर रुपमा लिएपनि आन्दोलनकर्ताहरुले भने त्यो नियोजित नभएको जनाएका छन्।

विशेष अधिकारसहितको प्रदेश माग राख्दै एक हप्तादेखि आन्दोलनरत कर्णालीको जुम्लामा शनिबार बालबालिकालाई आन्दोलनमा प्रयोग गरिएका खबर र तस्वीरहरु सार्वजनिक भएका थिए।

रंगिचङ्गी चश्मा लगाएर निस्किएका बालकहरुको पोशाक बिनाका शरीरको माथिल्लो भागमा हाम्रो भविष्य अंधकार छ, कर्णालीलाई स्वायत्त प्रदेश घोषणा गर जस्ता नारा लेखिएका तस्वीरहरु सार्वजनिक भएका थिए।

निषेध

यस्तै सुर्खेतमा भइरहेको आन्दोलन र थरुहटहरुले पश्चिम नेपालमा गरिरहेको विरोधमा पनि उमेर नपुगेका बालबालिकाहरुलाई प्रयोग गरिएको अधिकारकर्मीहरुले बताएका छन्।

आन्दोलनमा बालबालिकाको प्रयोगलाई निषेध गरिएपनि त्यो नरोकिएकोमा मानव अधिकारकर्मीहरुले चिन्ता व्यक्त गरिरहेका छन्।

बालबालिकाको प्रयोग रोक्न आन्दोलन चर्किरहेको सुर्खेत पुगेकी राष्ट्रिय मानव अधिकार आयोगकी प्रवक्ता मोहना अंसारीले भनिन्, “जुम्लामा उग्ररुपमा बालबालिका प्रयोग भएको देखियो, सुर्खेतमा पनि बालबालिकाको प्रयोग भएको पाइयो, बालबालिकालाई यसरी प्रयोग गरिनु स्वीकार्य कुरा होईन।”

अस्वीकार

तर आन्दोलनरत पक्षहरुले भने बालबालिकाको प्रयोग आफूहरुले नगरेको दाबी गरिरहेका छन्।

पार्टीहरुले पालैपालो आन्दोलन गरिरहेको जुम्लामा शनिबार आन्दोलनको जिम्मा नेपाल मजदुर किसान पार्टी नेमकिपाले लिएको थियो।

उक्त पार्टीका जिल्ला अध्यक्ष शिवलाल डांगीले भने, “यो ठाउँमा युवा विद्यार्थी र कार्यकर्ताहरु छैन र ठूल्ठूला नागरिक छैन र? आन्दोलनमा विभिन्न घुसपैठ हुने गर्छ, त्यो घुसपैठको एउटा रुप हुनसक्छ, तर हामीले बच्चा प्रयोग गरेका छैनौँ।”

राष्ट्रिय मानव अधिकार आयोगकी प्रवक्ता अंसारीले विद्यालय बन्द भएका कारण बालबालिकाहरु जानेर वा नजानेर आन्दोलनमा लागेकाले विद्यालय खुलाउने प्रयास भइरहेको बताइन्।