पुनर्निर्माणको थालनी तिहारपछि: प्राधिकरण

  • 17 अगस्ट 2015
तस्वीर कपीराइट bbc
Image caption दाता सम्मेलनमा दिने बाचा गरिएको सहायता रकम परिचालनको योजना बनाउन बाँकी छ

गतसाता प्रमुख कार्यकारी अधिकृत लगायतका पदाधिकारी पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माण तिहारपछि थाल्ने लक्ष्य बनाएको छ।

प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारीका अनुसार भूकम्पका कारण ध्वस्त भएका क्षेत्रमा भवन निर्माण मात्र नभई त्यहाँ दीर्घकालीन विकासको योजनाबारे समेत अध्ययन गरिने हुँदा त्यसका लागि केही समय लाग्न सक्छ।

भूकम्पले विशेषगरी १४ जिल्लामा घरबार विहीन हुनाका साथै आर्थिक गुजाराका आधारहरु समेत गुमाएका लाखौं मानिस शीघ्र पुनर्निर्माणको पर्खाईमा रहेको बताइन्छ।

चुनौती

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आफ्नो अगाडि तीन प्रकारका चुनौती रहेको बताएको छ।

दक्ष जनशक्तिको अभाव र व्यवस्थापन, धेरै मन्त्रालयदेखि सरकारी र गैर-सरकारी संस्थाहरु, दाता निकायहरुसँगको समन्वय र पुरातात्विक सम्पदा निर्माणमा खाँचो पर्ने काठ लगायत अन्य निर्माण सामाग्रीको छरितो उपलब्धता नै त्यस्ता चुनौती भएको अधिकारीहरु बताउँछन्।

ढिलोगरी गठन भएकाले अहिले आफ्नै आन्तरिक संरचना बनाउन केही समय लाग्नेछ।

त्यसपछि प्राधिकरणले भूकम्प प्रभावित जिल्लाको पुनर्निर्माण सँगसँगै देशका अन्य भागको विकास समेतमा आवश्यक गृहकार्य गर्नुपर्ने हुँदा पीडित जनता समक्ष पुग्न समय लाग्ने प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेलले बताए।

उनले भने, "तिहारपछिमात्र निर्माणको कार्य थालनी हुनेछ। त्यसअघि दाताहरुले वाचा गरेको बजेटको योजना बनाउनुछ, विभिन्न मन्त्रालयहरुसँग समन्वयको प्रबन्ध गर्नु पर्यो, त्यसैले सुन्दर-सक्षम ग्रामीण बस्ती निर्माण गर्ने हो भने केही समय धैर्य गर्नेपर्छ।"

अवसर

खासगरी भूकम्पले प्रभाव पारेका १४ जिल्लामा केन्द्रित हुने पुनर्निर्माण योजनामा प्राधिकरणले त्यस्ता जिल्लाको आर्थिक विकासको पाटोलाई समेत ध्यान दिइने बताएको छ।

त्यस्तो काममा सडकको पहुँच तथा त्यहाँको जीवनस्तर वृद्धिका सम्भावना लगायतकाबारे समेत अध्ययन हुने प्राधिकरणले बताएको छ।

प्रमुख कार्यकारी अधिकृत पोखरेल भन्छन्, "काठमाडौंबाट सीमेन्ट र छड बोकेर एउटा ट्रक गाँउमा पुग्छ भने फर्किँदा कम्तिमा त्यहाँका उत्पादनहरु लिएर फर्कियोस, त्यो सबै गर्ने बेला यही हो।"

सरकारले भूकम्प गएको तीन महिनापछि ढिलो गरी अघिल्लो साता पुनर्निर्माण प्राधिकरणको मुख्य पदमा नियुक्ती गरेको थियो।

प्राधिकरणले पाँच वर्षमा काम पूरा गर्ने जिम्मा पाएको छ।