'गैरजिम्मेवार' अभिव्यक्तिको छानबिन गर: सभामुख

  • 18 अगस्ट 2015
Image caption श्रब्य सामग्री राज्य व्यवस्था समितिलाई बुझइएको छ

सरकारले कतिपय तराई केन्द्रित नेताहरुले हालै समाजिक सद्भाव खलल गर्ने खालको सार्वजनिक अभिव्यक्ति दिएको आरोप लगाउँदै ती भाषणका श्रव्य सामाग्री संसदमा पेश गरेपछि त्यसबारे छानबिन गर्न व्यवस्थापिका संसदका सभामुखले निर्देशन दिएका छन्।

संसदको सोमबारको बैठकमा गृहमन्त्री बामदेव गौतमले अघिल्लो साता पश्चिम नेपालमा भएको एउटा आमसभामा केही नेताहरुले दिएको अभिव्यक्ति जातीय हिंसा भड्काउने खालको भएको आरोप लगाएका थिए।

ती अभिव्यक्ति प्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले त्यसबारे संसदको पनि ध्यान जानुपर्ने बताएका थिए।

उक्त सामाग्री संसदको राज्य व्यवस्था समितिलाई बुझाइएको छ।

अपिल

थरुहट प्रदेशको माग सहित गएको बिहीबार कैलालीको टिकापुरमा भएको विरोध सभामा तराईको प्रतिनिधित्व गर्ने केही नेताहरुले दिएको अभिव्यक्ति आपत्तीजनक रहेको भन्दै सम्बोधनको श्रव्य सामग्री गृहमन्त्रीले संसदलाई उपलब्ध गराएका हुन्।

ती टेपमा नेपाली काँग्रेसका सभासद अमरेशकुमार सिंह, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले त्यहाँ गरेका सम्बोधन समेटिएको छ।

आफ्नो सम्बोधनमा काँग्रेस नेता सिंहले कैलाली र कन्चनपुर थारुहरुको भूमी रहेको भन्दै थरुहट प्रदेश सुनिश्चीत गर्न लाठ्ठी, भाला र तरवार लिएर निस्कन अपिल गरेका छन्।

“म तपाइहरुको वीचमा के अनुरोध गर्न आएको हुँ भने तपाईँहरु घर घरबाट लाठी लिएर निस्कनुस भाला लिएर निस्कनुस, एक हातमा तरवार लिएर निस्कनुस यो अवाश्यकता हो म सडकबाट जान्न जबसम्म मेरो सत्ता दिन्नस् भन्नुहोस।”

सिंहले शासकवर्गको निन्द्रा खल्बल्याउने गरी आन्दोलन नगरेसम्म जनताका माग पुरा नहुने भन्दै राजमार्ग ठप्प पार्न आन्दोलनकारीलाई आह्वान गरेको टेपमा सुनिन्छ।

संसदमा पेश गरिएको श्रव्य सामाग्रीमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले कैलाली र कन्चनपुर सहितका भुभाग थारुहरुबाट काठमाण्डूका शासकले खसेको आरोप लगाएका छन्।

आरोप

उनले भने, “त्यो भुमीलाई विस्तारै विस्तारै कब्जा गरियो, र त्यही भुमीको मालिक थारुहरुलाई त्यही भुमीमा कमैया र कमलरी बनाइयो र विस्तारै विस्तारै बधुँवा मजदुरको रुपमा शोषित पीडित र अपहेलितको रुपमा थारु समुदायलाई रुपान्तरित गरियो।”

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले चाहीं तराईका विभिन्न समुदाय, थारु, आदिवासी जनजातिमाथि शासन गरिरहन उनकै शब्दमा खसवादी नेताहरुले संविधानको मस्यौदा तयार गरेको आरोप लगाएका छन्।

विभिन्न क्षेत्रमा अखण्डताको मागमा भइरहेका आन्दोलन प्रति उनले आक्रोश व्यक्त गरे।

“ए खसवादी नेताहरु तिमीहरुले चाहेको के? सुदुरपश्चिम अखण्ड रहने हो भने के नेपाल खण्डित हुने हो? त्यो खसवादीहरुले राम्रोसँग बुझ्नुपर्यो।”

सभामुखको निर्देशनपछि सोमबारै उक्त श्रव्य सामाग्रीलाई थप अनुसन्धानका लागि संसदको राज्यव्यवस्था समितिमा पठाइएको अधिकारीहरुले बताएका छन्।