विस्फोटका संदिग्ध व्यक्तिको भिडियो सार्वजनिक

  • 18 अगस्ट 2015
तस्वीर कपीराइट AFP
Image caption संदीग्ध व्यक्तिको तस्वीर भने पहिले नै सार्वजनिक गरिसकिएको छ

सोमबार थाइल्याण्डको राजधानी बैंककमा भएको बम विस्फोटको सम्बन्धमा प्रहरीले सोधपुछ गर्न चाहेको मुख्य संदिग्ध व्यक्तिको भिडियो सार्वजनिक भएको छ।

सिसिटिभी क्यामराबाट खिचिएको उक्त भिडियोमा, पहेंलो रंगको टिशर्ट लगाएका एकजना पुरुषले पछाडि बोक्ने झोला एरावान हिन्दू मन्दीरमा छाडेर बाहिरिंदै गरेको देख्‍न सकिन्छ।

सोमबारको बम विस्फोटनमा कम्तीमा २० जनाको ज्यान गएको थियो, जस मध्ये ९ जना विदेशीहरु छन्।

१२० जना भन्दा बढी घाइते भएका छन्।

हमला

मंगलबार भएको अर्को छुट्टै आक्रमणमा बैंककस्थित नदी तटमा विस्फोटक उपकरण फालिएको थियो तर उक्त घटनामा कसैलाई चोटपटक भने लागेन।

संदिग्ध व्यक्तिको तस्वीर भने पहिले नै सार्वजनिक गरिसकिएको छ।

नयां भिडियो दृश्यमा ति संदिग्ध व्यक्तिलाई सावधानीपूर्वक र जानाजान आफूले बोकेको झोला उक्त मन्दिरमा विसाएर, तत्कालै त्यहांबाट बाहिर निस्केको देख्‍न सकिन्छ।

बैंककमा रहेका बीबीसीका जोनाथन हेड भन्छन्- उक्त संदिग्ध व्यक्ति बसेको ठाउंमा नै केहि मिनेटपछि बम विस्फोट भएको थियो।

प्रहरीका प्रवक्ता लेफ्टिनेन्ट जेनरल प्रवुत थाभोर्नसिरिले एशोसिएटेड प्रेस समाचार एजेन्सीसंग कुरा गर्दै पहेंलो टिशर्ट लगाएको व्यक्ति संदिग्ध मात्र नभई बम हमलाकारी नै भएको बताएका छन्।

तस्वीर कपीराइट BBC World Service

सोमबार स्थानीय समय अनुसार साँझ ७ बजे उक्त मन्दिर र नजिकैको रात्चाप्रासोंग जंक्सनमा मानिसहरुको भीड लागेको बेला बम विस्फोट गराइएको थियो।

सुरक्षा प्रयास

थाइल्याण्डका प्रधानमन्त्री प्रायुथ चान-ओचाले उक्त विस्फोटनलाई देशमा भएको हालसम्मकै सबैभन्दा खराब हमला भएको बताएका छन्।

उनले भने, “यसअघि सानातिना विस्फोटहरु हुने गर्थे, तर योपटक तिनीहरुले निर्दोषहरुको जीवनलाई निशाना बनाएका छन्। तिनीहरु हाम्रो अर्थतन्त्र र हाम्रो पर्यटनलाई नष्ट पार्न चाहन्छन्।"

एउटा टेलिभिजन सम्बोधनमा बोल्दै उनले घटनाका दोषीहरुलाई कानूनी कारबाही गर्न सरकारले सकेको सबै प्रयास गर्ने प्रतिबद्धता जनाए।

र देशमा बसिरहेका विदेशीहरुलाई तिनीहरुको सुरक्षाको प्रयास गर्ने पनि बताए।

मंगलबारको घटनामा, एउटा विस्फोटक उपकरण –सम्भवत: एउटा ग्रीनेड- बैंककको एउटा व्यस्त नदी तट साथोर्नमा फालिएको बताइएको छ।