सप्तरीमा तनाव: एक प्रदर्शनकारीको मृत्यु

  • 18 अगस्ट 2015
Image caption बन्द र झडपका कारण तराइसहित पश्चिमका जिल्लाहरुको जनजीवन प्रभावित भएको छ

तराइ केन्द्रीत दलहरुले गरेको बन्दका क्रममा सप्तरीमा आन्दोलनकारीहरुले प्रहरी चौकीमाथि आक्रमण गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ‘बल प्रयोग गर्दा’ एकजनाको ज्यान गएको गृहमन्त्रालयले दाबी गरेको छ।

तराइ केन्द्रीत दलहरुले आह्वान गरेको बन्दका क्रममा भएको झडपले हिंसात्मक रुप लिएको केही घण्टापछि सरकारको उक्त भनाइ आएको हो।

आन्दोलनकरीहरुले भारदहस्थित प्रहरी कार्यलयमा पेट्रोल बम र गोली समेत प्रहार गरेको भन्दै गृहमन्त्रालयले सञ्चार सेट र हतियार समेत खोस्ने प्रयास भएपछि बल प्रयोग गरेको उल्लेख गरेको छ।

सीमांकनको विरोधमा तराइका अन्य जिल्लाहरुमा पनि प्रदर्शनहरु भएका छन्।

बाध्य

पूर्वपश्चिम राजमार्गको सप्तरी जिल्लाको भारदहमा मंगलबार विहान भएको झडपमा प्रहरीको गोली लागेर एकजना युवकको मृ्त्यु भएको छ।

उक्त झडपमा एक दर्जन भन्दा बढी प्रदर्शनकारीहरु र केही सुरक्षाकर्मीहरु घाइते भएका छन्।

राजमार्गमा पाल टाँगेर सडक अवरुद्ध पारेका बन्दकर्तालाई प्रहरीले त्यहाँबाट लखेटेपछि पुन एकत्रित भएर आन्दोलनकारीले प्रहरी चौकीमा आक्रमण गरेको गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले बताए।

उनले भने, "प्रहरी कार्यलयको भवनको पूर्वपट्टी बुलेट लागेको प्रष्टै देखिन्छ। प्रहरीले प्रयोग गरेको संचारको सामग्री समेत खोस्न थालेपछि बाध्य भएर भीड तितरवितर पार्नको लागि सामान्य बल प्रयोग गरिएको हो।"

तर बन्द आयोजक सद्भावना पार्टीका सह-अध्यक्ष लक्ष्मणलाल कर्णले शान्तिपूर्ण प्रदर्शनमा दमन गरिएको बताए।

उनले भने, "कुनै पनि व्यक्तिले पहिला गएर प्रहरीलाई आक्रमण गरेको छैन। हामीले शान्तिपूर्ण आन्दोलन गर्दा सरकारले बर्बरताको साथ जनतालाई बन्दुक हानेको हो।"

उक्त क्षेत्रमा स्थानीय प्रशासनले बेलुका ४ बजेदेखि विहान ५ बजेसम्मका लागि कर्फ्यू लगाएको छ।

झडप

सप्तरी मात्र नभइ बन्दबाट तराइका अधिकांश जिल्लाहरु प्रभावित भएका छन्।

सिराहाको मिर्चैयास्थित वन कार्यलयमा प्रदर्शनकारीले आगो लगाउने प्रयास गरेको गृहमन्त्रालयले जनाएको छ।

कपिलवस्तुको तौलिहवामा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो।

जिल्ला प्रशासन कार्यालय घेराउ गरेका प्रदर्शनकारीलाई हटाउन प्रहरीले दुई राउण्ड गोली चलाएको बताइएको छ।

त्यस्तै जुम्लामा पनि ३ दिनदेखिको कर्फ्यू जारी छ।

अखण्ड मध्यपश्चिमको मागसहित सुर्खेतमा भइरहेको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै सरकारी कार्यालयका कर्मचारी पनि मंगलबारबाट प्रदर्शनमा सहभागी भए।