सदभावनाद्वारा संविधानसभा छाड्ने घोषणा

  • 18 अगस्ट 2015
parties
Image caption प्रमुख चार दलले सीमांकनसम्बन्धी विवाद टुंग्याउन केही दिनयता पहल गरिरहेका छन्

भावी प्रदेहरुको प्रस्तावित सीमांकनलाई लिएर विवाद चर्किंदै जांदा पांच जना सभासद् भएको सदभावना पार्टीले संविधानसभा परित्याग गर्ने घोषणा गरेको छ।

तराई क्षेत्रमा प्रस्तावित प्रदेशहरुको खाकाबाट रुष्ट उक्त दलले, संविधानको मस्यौदाले तराईमा विगतमा भएका आन्दोलनपछि गरिएका सहमतिहरु पालना नगरेको भन्दै संविधानसभाबाट अलग हुने निर्णय गरेको बताएको छ। ‍

सत्तारुढ घटकहरुले भने उक्त दलको निर्णयप्रति आश्चर्य जनाउंदै उसले संविधान नचाहेको आरोप लगाएका छन्।

अपेक्षित?

सदभावना पार्टी खासगरी, प्रमुख दलहरुबीच भएको १६ बुंदे सहमति र पछिल्लो ६ प्रदेशीय खाकासंगै, निकै रुष्ट बनेको देखिन्थ्यो।

पछिल्लोपटक साम्प्रदायिक सदभाव बिग्रने अभिव्यक्ति दिएको भन्ने आरोप खेपिरहेका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले यसअघि पनि पटकपटक संविधानसभा छाड्ने चेतावनी दिदैं आएका थिए।

उक्त चेतावनीलाई व्यवहारमा परिणत गरेको जस्तो देखिने एउटा कदममा उनको दलले मंगलबार संविधानसभा परित्याग गर्ने घोषणा गरेको छ।

उक्त दलका महासचिव मनिषकुमार सुमनले भने, “संविधानसभा छाड्ने हाम्रो रहर होइन, वाध्यता हो। मधेश आन्दोलनको भावना नसमेटिएको संविधान जारी गर्न हामी साक्षी मात्रै बन्न जांदैनौं”।

चुनौती

संविधानसभामा समानुपातिकतर्फ सद्भभावना पार्टीका पांच सभासद् छन्।

पहिलो हुनेले जित्ने निर्वाचन प्रणाली अन्तर्गत चुनिएका सद्भभावनाका एक मात्र सभासद् सञ्जयकुमार साह फौजदारी अभियोगमा सभासद् पदबाट निलम्बित छन्।

संविधानसभा छाडेर सडक तताउने मनस्थिति बनाएको सदभावना पार्टीको पछिल्लो निर्णयप्रति सत्तारुढ दलहरुले भने आश्चार्य प्रकट गरेका छन्।

नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले भने, “उहांहरुले भनेको जस्तै सीमांकनसहितको संविधान जारी गर्ने तयारी हुंदाहुंदै संविधानसभा छाड्ने निर्णय बुझिनसक्नुछ”।

तर प्रदेशहरुको सीमांकनलाई लिएर पछिल्लोपटक तनावहरु चुलिदैं जांदा संविधानसभा छाड्ने सदभावनाको निर्णयले प्रमुख चार राजनीतिक शक्तिलाई नयां चुनौती थपिदिएको कतिपयले ठानेका छन्।