आमाको नाममा पनि वंशज नागरिकता 'दिइने'

  • 19 अगस्ट 2015
Image caption बाबु र आमाको नाममा वंशज नागरिकता दिने व्यवस्था गरिएको भन्दै विरोध हुँदै आएको थियो

लामो समयदेखिको विवादपछि संविधानसभाको संवाद समिति अन्तर्गतको चार दलका शीर्ष नेताहरु सम्मिलित विशेष समितिले नयाँ संविधानमा पनि आमाको नाममा वंशज नागरिकता दिने व्यवस्था राख्ने सहमति गरेको छ।

मस्यौदामा भएको व्यवस्थामा सुधार गरिएको बताइएपनि महिलाअधिकारकर्मीहरुले भने पछिल्लो सहमतिले पनि लैङगिक विभेद हटाउन नसक्ने टिप्पणी गरेका छन्।

संविधानको प्रारम्भिक मस्यौदा तयार भएको दिनदेखिनै त्यसमा रहेको नागरिकताको प्रावधानले महिलामाथि विभेद भएको भन्दै अधिकारकर्मीहरु र तराई केन्द्रित दलहरुले विरोध जनाउँदै आएका थिए।

जनताबाट पनि नागरिकताको प्रावधानमा सुधार गर्नुपर्ने सुझाव आएपछि त्यसको अन्तिम टुङ्गो लगाउने जिम्मा शीर्ष नेताहरु सम्मिलित विशेष समितिलाई दिइएको थियो।

विभेद

मंगलबार उक्त समितिले मस्यौदामा देखिएको भनिएको विभेदलाई कम गर्ने गरी नयाँ प्रावधान राख्न सहमति जुटाएको एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए।

उनले भने, “विदेशी महिलाहरुले नेपाली पुरुषसँग बिहे गरे समस्या नै रहेन, अब उनीहरुले तत्कालै अंगीकृत नागरिकता पाउने र सन्तानले वंशजको नागरिकता पाउने स्थिति बन्छ।”

मस्यौदामा बाबु र आमाको आधारमा वंशजको नागरिकता दिन भनिएकोमा अब बाबु वा आमाको आधारमा वंशजको नागरिकता दिने व्यवस्था गरिएको बताइएको छ।

जसमा नेपाली पुरुषले विदेशी महिलासँग बिहे गरेमा ती महिलाले तत्कालै अंगीकृत नागरिकता पाउने र सन्तानले बंशजको नागिकता पाउने व्यवस्था गरिएको बताइएको छ।

प्रावधान

तर नेपाली महिलाले बिहे गर्ने विदेशी पुरुषलाई दिइने अंगीकृत नागरिकता विषयमा ऐन बनाउँदा त्यसमा समय सीमा उल्लेख गर्ने सहमति भएको नेताहरुले बताएका छन्।

मस्यौदा आएदेखि नै विभेद पूर्ण भन्दै आएका महिला अधिकारकर्मीहरुले भने शीर्ष नेताहरुबीच भएको पछिल्लो सहमतिले पनि विभेद कायमै राखेको बताएका छन्।

पूर्व सभासद् समेत रहेकी महिलाअधिकारकर्मी सपना मल्ल प्रधानले भनिन, “नेपाली छोरीले पनि यदि विदेशीसँग बिहे गर्छन् र नेपालमा बस्न चाहन्छन् भने त्यो अंगीकृत नागरिकता दिनुपर्ने हो तर यसले त्यो दिएन, त्यो प्रत्यक्ष विभेद हुने प्रावधान हो।”

शीर्ष नेताहरुको छलफलको नेतृत्व गरिरहेका संवाद समितिका सभापति बाबुराम भटराईले पनि नागरिकताको मुद्दामा पितृसत्तात्मक चिन्तनका कारण लैङ्गिक समानता कायम गर्न नसकिएको भन्दै सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका छन्।