टर्कीमा गोली प्रहार गर्ने दुईजना पक्राउ

  • 20 अगस्ट 2015
तस्वीर कपीराइट Reuters

टर्कीका अधिकारीहरुले भनेका छन् इस्तानबुल शहरमा प्रधानमन्त्रीको कार्यालय रहेको ऐतिहासिक दरबारमा गोली प्रहार गरेका दुई जना व्यक्तिलाई सुरक्षा सैन्यले पक्राउ गरेको छ।

ती व्यक्तिसंग स्वचालित हतियार र ग्रीनेडहरु रहेको बताइएको छ।

त्यसअघि देशको दक्षिणपूर्वमा भएको बम हमलामा आठजना सैनिकहरुको ज्यान गएको थियो।

सैनिकहरु सवार एउटा वाहनमा भएको बम हमलामा ती सैनिकहरु मारिएका हुन्।

गिरफ्तार

सिर्त प्रान्तमा भएको उक्त हमलाको जिम्मेवारी हालसम्म कसैले पनि दावी गरेको छैन तर सुरक्षा अधिकारीहरुले त्यसका लागि पीकेके पार्टीका विद्रोहीहरुलाई दोष दिएका छन्।

दुई वर्षे युद्धविराम सम्झौता भंग भएपछि चर्केको हिंसाको लहरका क्रममा यो पछिल्लो आक्रमण भएको छ।

गत जुलाई महिनामा युद्ध विराम भंग भए यता दर्जनौं मानिसहरुको ज्यान गइसकेको छ।

संलग्न

इस्तानबुल शहरमा प्रधानमन्त्रीको कार्यालय रहेको ऐतिहासिक दरबारमा गोली प्रहार हुँदा प्रधानमन्त्री एहमत डाभुटोग्लु अंकारा शहरमा रहेका थिए।

शहरका गभर्नरले जारी गरेको वक्तव्यमा ति हमलाकारीहरु यसै महिना केही अघि सत्ताधारी एक पार्टीको कार्यालयमा भएको सशस्त्र हमलामा संलग्नहरु रहेको बताइएको छ।

इस्तानबुल शहरको युरोप तर्फको भागमा पर्ने उक्त प्रधानमन्त्री कार्यालय रहेको दरबार, १९ औं र २० औं शताब्दीको आरम्भसम्म ओटोमन साम्राज्यको मुख्य प्रशासनिक केन्द्र रहेको थियो।

आधुनिक टर्कीका संस्थापक मुस्तफा कमाल आटाटुर्कको निधन सन् १९३८ मा सोही दरबारमा भएको थियो।

अहिले त्यो एउटा मुख्य पर्यटकीय आकर्षण पनि हो।