'बम हमलाका संदिग्धद्वारा आत्मसमर्पण'

  • 20 अगस्ट 2015
तस्वीर कपीराइट AFP
Image caption सोमबारको उक्त बम हमला गराएको दावी हालसम्म कसैले गरेको छैन

थाईल्याण्डको राजधानी बैंककमा सोमबार भएको बम विस्फोटका मुख्य संदिग्धलाई सघाएको आशंकामा खोजी भइरहेका दुईजना व्यक्तिले आफुहरुलाई गलत अभियोग लगाइएको भन्दै प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्।

सिसिटिभी फुटेजमा देखिएका ती दुई व्यक्तिले आफूहरु पर्यटक गाइड भएको बताएका छन्।

प्रहरीले तिनीहरुसंग सोधपुछ गरिरहेको बताइएको छ।

बीसजनाको ज्यान जाने गरी राजधानी बैंककको एउटा प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थलमा भएको बम विस्फोटका जिम्मेवारहरुलाई पक्रन थाइ अधिकारीहरुलाई हम्मेहम्मे परिरहेको छ।

दाबी

तिनीहरुले उक्त हमलामा अन्तर्राष्ट्रिय गिरोहको हात हुनसक्ने सम्भावना नरहेको बताइसकेका छन्।

तर उनीहरुले यस अघिका टिप्पणीहरुमा बम हमलाका मुख्य दोषी विदेशी नागरिक हुनसक्ने भनि दावी गरेका थिए।

बिहीबार आफूहरु टुर गाइड हौं भनि प्रहरी समक्ष आत्मसमर्पण गरेका ती दुईजना व्यक्तिलाई बम विस्फोट हुनु केही समय अघिमात्र घटनास्थलको सीसीटीभी फुटेजमा देखिएको थियो।

रातो र सेतो रंगको टिशर्ट लगाएका देखिने तिनीहरु एरावान मन्दिरमा रहेको एउटा बेञ्चमा पहेंलो टिशर्ट लगाएका र बम हमलाको मुख्य संदिग्ध मानिएका व्यक्ति बसेर आफ्नो झोला बिसाए लगत्तै उठेका थिए।

प्रहरीले हाल ती दुईजनालाई सोधपुछ गरिरहेको बताइएको छ।

आशंका

प्रहरीले बीसजनाको ज्यान जाने गरी भएको उक्त हमलामा कम्तीमा पनि दशजना व्यक्ति संलग्न रहेको हुनसक्ने आशंका गरेको छ।

बैंककमा रहेका बीबीसी संवाददाता जोनाथन हेड भन्छन्, प्रहरीले हमलाका मुख्य संदिग्धलाई एरावान मन्दिरसम्म ल्याएको ठानिएका एकजना टुकटुक ट्याक्सी चालकसंग पनि सोधपुछ गरिरहेको छ, तर ती संदिग्ध व्यक्तिको पहिचान र राष्ट्रियताबारे अझै केही खुल्न सकेको छैन।

हाम्रा संवाददाता भन्छन्, उक्त मन्दिर वरपर सफा सुग्घर गरिसकिएको छ तैपनि बीबीसीका पत्रकारहरुको टोलीले त्यहाँ नजिकैका भित्ताहरुमा विस्फोटक पदार्थका टुक्राटाक्रीहरु गडेर रहेको फेला पारेको थियो।

त्यसको अर्थ प्रहरीको अनुसन्धान टोलीले घटनास्थलबाट सबै सम्भावित प्रमाणहरु बटुली सकेको छैन।

अहिलेसम्म कसैले उक्त बम हमला आफुले गराएको भनी दावी गरेको छैन।