शरणार्थीहरुलाई मेसेडोनियाको सीमा खुला

  • 23 अगस्ट 2015
तस्वीर कपीराइट AP

मेसेडोनियाको सुरक्षा सैन्यले छिमेकको ग्रीसबाट सीमापार गरी आउने शरणार्थीहरुमाथिको प्रवेश प्रतिबन्ध हटाइदिएका छन्।

यसअघि मानवअधिकार संगठनहरुले मेसेडोनियालाई ती शरणार्थीहरुमाथि बल प्रयोग गरेको र हजारौं मानिसहरुलाई विनाकुनै ओत खुला क्षेत्रमा बस्न बाध्य पारेको भनी आलोचना गरेका थिए।

मेसेडोनिया प्रवेश गरेका ती शरणार्थीहरु, युरोपेली संघका उत्तरी देशहरु तर्फको यात्राका निम्ती हंगेरी जानका लागि सर्विया तर्फको रेल तथा बसहरुमा चढेका छन्।

ग्रीसबाट मेसेडोनिया भएर सर्विया पुग्न सामान्यतया केही घण्टाको समय लाग्छ।

सर्विया

तर आइतबार विहान सवेरै सर्विया पुगेका हजारौं शरणार्थीहरुलाई त्यो यात्रा पुरा गर्दा केहि दिनको समय लागेको थियो।

तस्वीर कपीराइट Reuters

ती शरणार्थीहरु मध्ये धेरै जसो सिरियाको द्वन्द्वबाट भागेकाहरु छन्।

मेसेडोनियाले एकाएक आपतकालीन अवस्थाको घोषणा गरी सीमाना बन्द गरी ती शरणार्थीहरुको प्रवेशलाई रोकी दिएपछि तिनीहरु अलपत्र परिरहेका थिए।

दुई दिनसम्मको मुठभेडपछि सुरक्षा सैन्यहरुले अन्तत: ती शरणार्थीहरुलाई प्रवेश दिएका थिए।

शरणार्थी

ती मध्ये केही हाल दक्षिणी सर्वियास्थित शरणार्थी केन्द्रमा छन्।

तस्वीर कपीराइट Reuters

तर धेरै जसो छिमेकको हंगेरीमा जानेछन्, जुन युरोपेली संघको सीमाविहीन शेन्गेन क्षेत्रमा पर्दछ।

हंगेरीले आफ्नो सीमा क्षेत्रमा तारबार लगाउने कार्य सम्पन्न गर्नु अघि नै त्यहां प्रवेश गर्ने उद्देश्यले हरेक दिन अनुमानित दुई हजारका दरले आप्रवासीहरु देशमा आइरहेको बताएको छ।

मेसेडोनियाले आपतकालीन अवस्थाको घोषणा फिर्ता लिएको छैन र आफ्नो सीमानालाई नियमन गर्ने कार्य जारी राख्‍ने बताएको छ।