चिनियाँ केन्द्रीय बैंकद्वारा ब्याजदरमा कटौती

  • 25 अगस्ट 2015
तस्वीर कपीराइट AFP
Image caption गत नोभेम्बर महिनायता ब्याजदरमा गरिएको यो पाँचौं पल्टको कटौती भएको बताइएको छ

चीनको केन्द्रीय बैंकले सांघाई सट्टा बजारमा दोस्रो दिनपनि शेयरको मूल्यमा नाटकीय रुपमा ठूलो गिरावट आएपछि त्यसलाई नियन्त्रणमा लिन कर्जाको ब्याजदरमा कटौती गरेको छ।

वाणिज्य बैंकहरुको हकमा लागु नगद मौज्दातको स्तरलाई पनि केही खुकुलो तुल्याइएको छ।

गत नोभेम्बर महिनायता ब्याजदरमा गरिएको यो पाँचौं पल्टको कटौती हो।

सांघाई स्टक एक्सचेञ्जमा देखिएको गिरावट इतिहासमै सबैभन्दा खराब तहमा पुग्न लागेको छ।

गिरावट

सोमबार आठ प्रतिशतभन्दा केही बढीको गिरावटपछि मंगलबार पनि बजारले आठ प्रतिशतभन्दा केही कम नोक्सान बेहोरेको छ।

शेयर बजारमा देखिएको दुई दिनको उथलपुथलपछि चीनको केन्द्रीय बैंकले आफ्नो मुख्य ब्याजदरमा शून्य दशमलव दुई पाँच प्रतिशत विन्दुले कटौती गर्दै त्यसलाई चार दशमलव ६ प्रतिशत पारेको छ।

नयाँ ब्याजदर बुधबारबाट लागु हुने बताइएको छ।

वास्तविक अर्थतन्त्रको दिगो र स्वस्थ विकासलाई समर्थन गर्न र त्यसलाई प्रवर्द्धन गर्न आवश्यक लगानीको सामाजिक मूल्य कम गर्न भन्दै केन्द्रीय बैंकले ब्याजदर घटाएको बताएको हो।

मौज्दात

बैंकहरुले राख्‍नुपर्ने नगद मौज्दातको मात्रालाई घटाएर अर्थतन्त्रमा नगद प्रवाह बढाउने कदम पनि केन्द्रीय बैंकले चालेको छ।

अर्थशास्त्रीहरुले सामान्यतया चीनको त्यस्तो कदमको स्वागत गरेका छन्।

बीबीसीका व्यापार सम्पादक रोबर्ट पेस्टन आफ्नो विश्लेषणमा भन्छन्, मंगलबारको मौद्रिक उत्प्रेरकको अल्पकालीन महत्वपूर्ण पक्ष भनेको त्यसबाट आर्थिक वृद्धि र शेयर बजार उकास्नमा सघाउ त पुग्नेछ तर चीनको खतरानाक ऋणको फोकालाई यस्ले झन फुलाउने छ, जसबाट आर्थिक संकटको दीर्घकालीन जोखिमलाई बढाइदिने छ।

चीनको केन्द्रीय बैंकको सो कदमपछि युरोपेली शेयरको मुल्य बढेको छ, फलस्वरुप लण्डनको फुट्सी वान हन्ड्रेडमा तीन दशमलव तीन प्रतिशत वृद्धि देखिएको छ।