जलविद्युत क्षेत्रमा क्षति

  • 26 अगस्ट 2015
Image caption भूकम्पका कारण माथिल्लो तामाकोशीको निर्माण पूरा हुन तोकिएको समय भन्दा बढी लाग्ने बताइएको छ

वैशाखका ठूला भूकम्पपछि अरबौं रुपैंयाँ बराबरको क्षति पुगेको देशका विभिन्न जलविद्युत केन्द्रहरुको पुनर्निर्माण गर्न कम्तिमा एक वर्ष लाग्ने अधिकारीहरुले बताएका छन्।

भूकम्पका कारण विद्युत वितरण प्रणाली र निर्माणाधीन माथिल्लो तामाकोशी, माथिल्लो त्रिशुली र रसुवाका आयोजनाहरुमा उल्लेख्य क्षति पुगेको बताइएको छ।

क्षतिका कारण ४५ मेगावाटको भोटेकोसी विद्युत गृह बन्द भएको छ।

नेपाल विद्युत प्राधिकारणका अनुसार भूकम्पका कारण कयौं निर्माणाधीन आयोजनाहरुको निर्माण पुरा हुने समय सिमा अझ पर धकेलिएको छ।

अवरुद्ध

वैशाखमा ठूलो भूकम्प जाने वित्तिकै मध्य नेपालका जलविद्युत गृह, भवन र प्रसारण प्रणालीमा पनि ठूलै हलचल भयो।

नुवाकोट, रसुवा, सिन्धुपाल्चोक र दोलखाका कयौं जलविद्युत पूर्वाधारमा क्षति पुग्दै गर्दा देशभर विद्युतको भार प्रवाह नियन्त्रण गर्ने काठमाण्डूको स्युचाटारस्थित लोड डिस्प्याच कक्षमा कम्प्युटर प्रणाली नै अवरुद्ध हुन पुगेको थियो।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेका अनुसार वैशाख ११ गतेको भूकम्पका कारण नुवाकोट, रसुवा, सिन्धुपाल्चोक र दोलखमा प्राधिकरणका थुप्रै भवनहरु भत्किएका छन्।

“त्यो क्षेत्रमा हाम्रा प्रसारण लाइन पनि क्षतिग्रस्त छन्। भूकम्पका बेला हाम्रो भार प्रसारण केन्द्रमा समेत समस्या आएको थियो, तर हामीले आठ घन्टामैं विद्युत प्रसारण प्रणाली सञ्चालन गर्न सक्यौं।”

प्राधिकरणले आफ्नो स्वामित्वका क्षतिग्रस्त २१ मेगावाटको देवीघाट र १० मेगावाटको सुनकोशी जलविद्युत केन्द्र भूकम्पको केही साता भित्रै पुन: सञ्चालनमा ल्यायो।

अन्यौल

तर भूकम्पले नराम्रो क्षति पुर्याएका निजी स्वामित्वको सिन्धुपाल्चोकको ४५ मेगावाटको भोटेकोसी जस्ता कयौं जलविद्युत केन्द्रलाई पुन: सञ्चालनमा ल्याउन अझै महिनौं लाग्ने अधिकारीहरु बताउँछन्।

भोटेकोशी विद्युत कम्पनीका प्रमुख कार्यकारी नरेन्द्र प्रजापतिका अनुसार भूकम्पका बेला विद्युत गृहमाथिबाट चट्टानका पत्रहरु खस्न थालेका थिए।

“तर हामीले समयमै पानीको प्रवाह रोक्न सफल भयौं र क्षति कम भयो। तर अहिलेसम्म पहिरो आइरहेकोले हामीले क्षतिको समेत यकिन गर्नसकेका छैनौं। मर्मत कार्य त दशैं तिहारपछि मात्र शुरु हुनसक्ला।”

निजी क्षेत्रका लगानीकर्ताको संस्था स्वतन्त्र उर्जा उत्पादक संघ नेपाल इपानका अनुसार भूकम्पले पुर्याएको क्षतिका कारण निजी क्षेत्रको एक दर्जन भन्दा बढी विद्युत गृहको करिव ८० मेगावाट विजुली उत्पादन बन्द छ।

क्षति

इपानका अध्यक्ष खड्गबहादुर बिष्टले भूकम्पका कारण ४ अर्ब रुपैंया बराबरको क्षति भएको बताए।

“हामीले हिसाब गर्दा भोटेकोशीको मात्र साढे दुई अर्ब रुपैयाँजति र अन्यको डेढ अर्ब रुपैंयाँ जतिको गरेर करिव ४ अर्ब रुपैयाँ जतिको क्षति भएको अनुमान गरेका छौं।”

भूकम्पले निर्माणाधीन ४५६ मेगावाट क्षमताको दोलखाको माथिल्लो तामाकोशी, १११ मेगावाट क्षमताको रसुवागढी, १०२ मेगावाटको मध्य भोटेकोशी, ५६ मेगावाटका माथिल्लो र तल्लो सान्जेन, ६० मेगावाट क्षमताको माथिल्लो त्रिशुली ए, २१६ मेगावाटको माथिल्लो त्रिशुली १ आदि आयोजनामा क्षति पुगेको प्राधिकरणको भनाइ छ।

अहिलेसम्मकै ठूलो निर्माणाधीन माथिल्लो तामाकोशीका बन्दै गरेका महत्वपूर्ण संरचनामा पुगेको क्षतिको अध्ययन विदेशी विज्ञद्वारा गराइएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले बताए।

“भूकम्पपछिका पहिरोका कारण विद्युत आयोजनाको मुख्य संरचनामै केही तलमाथि परेको शंका लागेपछि हामीले अमेरिकी विज्ञहरुको समेत सहयोग लियौं। तर आत्तिनु पर्ने स्थिति छैन।”

चुनौती

भूकम्पका कारण क्षतिग्रस्त विद्युत गृह वरपरका भवन र मध्य पहाडी भेगका प्रसारण लाइनको मर्मत गर्न अझै केही महिना लाग्ने अधिकारीहरुको बताउँछन्।

विपदपछिको आवश्यकता आँकलन पीडीएनए तयार गर्ने क्रममा अधिकारीहरुले वैशाखका भूकम्पले देशको जलविद्युत क्षेत्रमा कुल १० अर्ब रुपैंयाँ बराबरको क्षति पुगेको जनाएका थिए।

देशको कठिन भुगोल र मौसमी जटिलताका कारण जलविद्युत पूर्वाधारको पुनर्निमाणको काम थप चुनौतीपुर्ण बनेको जलविद्युत उत्पादनकर्ताहरु बताउँछन्।