'आक्रोश उत्पन्न हुनसक्ने चेतावनी'

  • 27 अगस्ट 2015
आप्रवासीहरु तस्वीर कपीराइट AZZARO AFP
Image caption धेरैजसो आप्रवासीहरु द्वन्द्वग्रस्त मुलुकहरुबाट आइरहेको बताइएको छ

जर्मनीका विदेशमन्त्रीले चेतावनी दिंदै भनेका छन्, यदि थोरै मुलुकहरुले मात्रै युरोपेली आप्रवसन संकटको भार बोक्ने हो भने जनतामा आक्रोश उत्पन्न हुनसक्छ।

भियनामा सो समस्याबारे छलफल गर्न आयोजना गरिएको एक बैठक अघि बोल्दै फ्र्यांक वाल्टर स्टीनमायर ले त्यस्तो बताएका हुन्।

जर्मनीले यस वर्ष झण्डै आठ लाख मानिसहरुले आफ्नो मुलुकमा शरण माग्न सक्ने अनुमान गरेको छ, जुन युरोपेली संघका अन्य सदस्य मुलुकहरुमध्ये बढी हो।

जर्मनी, अष्ट्रिया र पश्चिमी बाल्कनका ६ वटा मुलुकका नेताहरुले भाग लिइरहेको शिखर सम्मेलन अघि बोल्दै विदेश मन्त्री स्टीनमायरले आप्रवासीहरुको भार युरोपेली संघका सबै मुलुकहरुले बाँडीचुँडी गर्नुपर्ने बताए।

जर्मनीमा शरणार्थीहरु तथा उनीहरुकालागि बनाइएका आवासहरुमाथि हमलाका घटनाहरु बढ्दै जाँदा उनको त्यस्तो भनाइ आएको हो।

दर्ता

युरोपेली संघको डब्लिन नियम अनुसार युरोपेली संघ भन्दा बाहिरबाट युरोपेली संघमा शरण खोज्न आउनेहरुले उनीहरु आइपुगेको पहिलो मुलुकमा दर्ता गर्नुपर्ने हुन्छ।

तर अहिले त्यसो नभैरहेको कतिपय युरोपेली मुलुकहरुले गुनासो गरेका छन्। अष्ट्रियाका विदेश मन्त्री सेवेस्टियन कुर्जले भने, "ग्रीसले शरणार्थीहरुलाई जतिसक्दो चाँडो आफ्नो भूभागबाट म्यासेडानिया तर्फ जान दिने प्रयास गरिरहेको छ। ती शरणार्थीहरु त्यसपछि सर्बिया र हङ्गेरी हुँदै अष्ट्रिया तथा जर्मनी जस्ता धनी मुलुकहरु तर्फ लाग्दछन्। साँचो कुरा के हो भने डब्लिन प्रणालीले अब काम गर्न छोडेको छ।" युरोपेली संघको सीमा अनुगमन गर्ने निकाय फ्रन्टेक्सका अनुसार यो वर्षको शुरुका आठ महिनामा झण्डै पौने चार लाख आप्रवासीहरु संघको बाहिरी सीमा आइपुगेका थिए। यो गत वर्षको सोही अवधिभन्दा झण्डै तेब्बर हो।

अधिकारीहरु भन्छन्, हालैका साताहरुमा पश्चिमी बाल्कान मुलुकहरु हुँदै युरोप प्रवेश गर्न खोज्ने आप्रवासीहरुको संख्या नाटकीयरुपमा बढेको छ।

तीमध्ये सिरिया, इराक र अफगानिस्तानबाट आएका धेरैजसो शरणार्थीहरु जर्मनी जान खोजेका देखिन्छ।

तारबार

हङगेरीले प्रवेशाज्ञा विना नै गैरकानुनीरुपमा आफ्नो मुलुकभित्र प्रवेश गर्न चाहने आप्रवासीहरुलाई रोक्न सीमामा तारबार लगाउन थालेको छ।

बुधबार हङ्गेरीका प्रहरीले सर्बियाबाट आफ्नो भूभागमा प्रवेश गर्न खोज्ने सैयौं मानिसहरुलाई रोक्न अश्रुग्याँस प्रहार गरेका थिए।

प्रहरीले तीन हजार भन्दा बढी आप्रवासीहरु सर्बियाबाट हङ्गेरी प्रवेश गर्न खोजीरहेको जनाएका छन्।