पत्रकारलाई दिइएको कैद सजाय उल्टाउन माग

  • 30 अगस्ट 2015
तस्वीर कपीराइट Reuters
Image caption फैसलाले इजिप्टमा निकै खतरनाक सन्देश प्रतिवादीका वकिलको टिप्पणी छ

इजिप्टको अदालतबाट तिन वर्षको कैद सजाय सुनाइएका अल-जजीरा टेलिभिजनका एकजना पत्रकारले उक्त फैसला उल्टाइनु पर्ने माग गरेका छन्।

अष्ट्रेलियाली पत्रकार पीटर ग्रेस्टले इजिप्ट सरकारमाथिको अन्तर्राष्ट्रिय दबाब कायम राख्न पनि आग्रह गरेका छन्।

उनी र उनका सहकर्मी इजिप्टेलीमूलका क्यानेडेली मोहम्मद फाहमी, इजिप्टेली बाहेर मोहम्मदलाई झुठो समाचार प्रसारण गरेको र अनुमति नलिएको ठहर गर्दै न्यायाधीश हसन फरिदले शनिवार कैद सजाय सुनाएका थिए।

आरोप-दाबी

सन् २०१४ मा ग्रेस्ट र फाहमीलाई ७ वर्ष तथा मोहम्मदलाई १० वर्षको कैद सजाय दिइएको थियो।

गत जनवारी महिनामा त्यो सजाय उल्टाउँदै पुन: सुनुवाईका निम्ति उनीहरु रिहा गरिएका थिए।

पछिल्लो पटक अन्य दुईलाई ३ वर्ष र मोहम्दलाई थप ६ महिना कैद सजाय दिइएको छ।

उनीहरुमाथि प्रतिवन्धित समूह मुस्लिम ब्रडरहुडलाई सघाएको आरोप पनि लगाइएको थियो।

प्रतिवादी पत्रकारहरुले ती आरोप अस्वीकार गर्दै आएका छन्।

उनलाई यो वर्षको सुरुमा कायरोबाट अष्ट्रेलियालाई सुपुर्दगी गरिएका ग्रेस्टले गलत काम गरेको कुनै प्रमाण अदालतले पेश नगरेको बताए।

दबाब

तस्वीर कपीराइट
Image caption अदालतले आफूहरुविरुद्ध प्रमाण पुर्याउन नसकेको दोषी ठहर्याइएका पत्रकारको दाबी छ

उनका वकिलले अदालतको निर्णयमा हस्तक्षेप गर्न राष्ट्रपतिलाई आग्रह गरेका छन्।

अमेरिकाले अदालतको निर्णय गम्भीर चिन्ता र निराशाजनक भएको टिप्पणी गरेको छ।

विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, “स्थिरता र विकासका निम्ति अत्यावश्यक अभिव्यक्तिको स्वतन्त्रताको अधिकारलाई कमजोर बनाउने उक्त निर्णय सच्याउन हामी इजिप्ट सरकारलाई उपलब्ध सबै कदम उठाउन आग्रह गर्दछौं।”

अमेरिकाले भनेको छ, “अलोकप्रिय र विवादित नै किन नहोस संचार माध्यमको अनुसन्धान, रिपोर्ट सम्प्रेषण र टिप्पणी गर्ने स्वतन्त्रता प्रजातान्त्रिक विकासको महत्वपूर्ण र स्वतन्त्र समाजको आधारभूत पक्ष हो।”

यसअघि क्यानाडा, संयुक्त राज्य र अष्ट्रेलियाले पनि उक्त निर्णयको कडा शब्दमा आलोचन गरेका थिए।